प्रसिद्ध वैज्ञानिक बेक्लेन्डले आविष्कार गरेको र अहिले दैनिक जीवनमा व्यापकरुपमा प्रयोग हुँदै आएको प्लास्टिक ‘सिन्थेटिक’ प्लास्टिक हो । यो प्लास्टिक विभिन्न रासायनिक प्रक्रियाहरुबाट बनाइन्छ ।
सन् १९०० को सुरुआतमा बेक्लेन्डले बिजुलीमा चाहिने इन्सुलेटर (करेन्ट नलागोस् भनी तार छोप्ने प्लास्टिक) बनाउने जिम्मा पाए ।
त्यसअघि इन्सुलेरटररुपमा ‘सेलएक’ नामक पदार्थको प्रयोग हुने गर्दथ्यो । यो पदार्थ विटल कीरा (Laccufer Lacca) ले रुखमा छोडेको पदार्थलाई तताएर तथा छानेर तयार गरिन्थो ।
विद्युत् उद्योग फस्टाउँदै गएपछि त्यसको माग बढ्दै गयो । तर, बढ्दो मागको तुलनामा त्यो निर्माण हुुने प्रक्रिया निक्कै कम र सुस्त हुने भएकोले बिजुलीमा इन्सुलेटरको विकल्प खोज्नु जरुरी भइसकेको थियो । त्यसैको विकल्पको खोजीमा बेक्लेन्ड सिन्थेटिकको प्लास्टिकको आविष्कार गर्न पुगेका थिए ।
त्यसो त उनले यो कुरा सजिलै आविष्कार गरेका थिएनन् । त्यसको लागि उनी र उनका सहयोगीहरुले सन् १९०४ देखि नैै अनुसन्धान र खोज थालेका थिए । त्यसको करिब ३ वर्षमा उनीहरुले हजारौं प्रयोगहरु गरे, बक्लेन्डका प्रयोगशालाका कपीका पानाहरु असफल प्रयोगका तथ्य र तथ्यांकहरुले भरिए । तर, बेक्लेन्डले हरेस खाएनन् ।
उनले आफ्नो अनुसन्धान र प्रयोग जारी राखे र अन्त्यमा उनले आफूले चाहेजस्तो पदार्थको निर्माण गरेरै छाडे । उनले त्यो पदार्थको नाम ‘बेकेलाइट’ राखेका थिए । त्यसलाई विभिन्न प्रयोग र तापक्रमहरुमा परीक्षण र अनुसन्धान गर्दै अन्ततः उनले सिन्थेटिकको प्लास्टिक बनाउन सफलता हात पारेका थिए ।
आफ्ना आविष्कार सार्वजनिक गर्नुभन्दा पहिला उनले त्यसको ‘पेटेन्ट’का लागि निवेदन दिएका थिए । किनकि, पेटेन्ट नपाएसम्म आफ्नो आविष्कारलाई गुपचुप नै राख्नु नै उचित ठानियो ।
आविष्कारको दुई वर्षपछिमात्र उनले सन् १९०९ मा अमेरिकन केमिकल सोसाइटीको न्युयोर्क च्याप्टरको बैठकमा आफनो आविष्कारलाइ सार्वजनिक गरेका थिए । बेक्लेन्डको यो आविष्कार चाँडै नै लोकप्रिय हुँदै गयो ।
विश्वप्रसिद्ध पत्रिका ‘टाइमस्’ले सन् १९२४ मा उनकोबारेमा एउटा आवरण कथा नै छाप्यो । त्यसमा बेक्लेन्डले आफनो आविष्कार केही वर्षभित्रमा नै आधुनिक सभ्यताका सबै यान्त्रिक कारखानाहरुको अभिन्न अंग बन्ने दाबी गरेका थिए ।
सन् १९४५ मा बेक्लेन्डको निधन हुँदाको वर्षसम्म आइपुग्दा अमेरिकामा वार्षिक ४ लाख टन प्लास्टिक उत्पादन हुन थालिसकेको थियो । त्यसो त बैक्लेन्डले आविस्कार गर्नुभन्दा पहिले पनि प्लास्टिकको प्रयोग हुने गर्दथ्यो । तरm त्यो चाहिँ रासायनिक प्रक्रियाबाट तयार नगरिएका प्लास्टिक थियो ।
त्यस्तो रसायनिक प्रक्रियाबिना नै बन्ने प्लास्टिकको आविष्कार भने बेलायतका अलेक्जेन्डर पार्कस्ले गरेका थिए । उनले यसको प्रदर्शन सोही साल लन्डनको द ग्रेट इन्टरनेसनल एक्जिबिसनमा गरेका थिए ।
पार्कस्ले आविष्कार गरेको प्लाष्टिक भने ‘पार्कोसाइन’ नामक जैविक वस्तुको रेसाहरुबाट बनाइन्थ्यो । त्यसरी प्लास्टिक बनाउने प्रक्रियामा त्यसलाई आकार दिनका लागि पार्केसाइनका रेसाहरुलाई ताप दिइन्थ्यो र आफूले चाहेको निश्चित आकार आएपछि त्यसलाई चिसो बनाइन्थ्यो । यसरी विभिन्न आकारका प्लास्टिकका वस्तुहरु निर्माण गर्ने गरिन्थ्यो ।
यसरी अलेक्जेन्डर पार्कस्ले लियो बेक्लेन्डलेभन्दा ४५ वर्ष पहिले नै प्लास्टिकको निर्माण गरेका कारण पहिलो प्लास्टिक निर्माण गर्ने श्रेय भने बेलायतका अलेक्जेन्डर पार्कस्लाई दिइन्छ । –एजेन्सीको सहयोगमा ।