काठमाडौं- कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । हरि ओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई फिल्ममा अनुबन्ध गरेका हुन् ।
मैनाली कथा पुरस्कार ट्रस्टले केही महिना अघि हरि ओम सिने मेकर्सलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । निर्माता पोखरेलका अनुसार जितु फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन् । ‘अर्को प्रमुख पात्र पनि चाँडै फाइनल हुनेछ । यसबाहेक सेकेण्ड लिडका लागि अर्की एक महिला पनि फाइनल हुँदैछिन्’, निर्माता पोखरेलले भने, ‘चामे,गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितुको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले खुलाइएको छैन।
फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपको संगीत हुनेछ । फिल्ममा यस अघि नै अभिनेत्री सुहाना थापा अनुबन्धित भइसकेकी छन् फिल्मको प्रदर्शन २०८२ मा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए ।
निर्देशन लक्ष्मण सुनारले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।