अष्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता अडोल्फ हिटलरको नाम तपाईहरुले सुन्नुभएको नै होला । उनलाई अहिले पनि सबैले हिटलर भनेर नै चिन्ने गर्छन । हिटलर नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र समेत हुन् । हो उनकै नाम लिएर नेपालमा चलचित्र तयार हुने भएको छ । तर चलचित्रको कथावस्तु अडोल्फ हिटलरको जीवनीमा भने आधारित हुने छैन ।
अष्टनारायण पिक्चर्सले चलचित्र ‘हिटलर’ नामक चलचित्र निर्माण गर्न लागेको हो । खबरका अनुसार चलचित्रको प्रमुख भुमिकामा शोहित मानन्धर फाइनल भइसकेका छन् भने नायिकाको टंगो केही दिन भित्र लाग्ने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रका निर्देशक सौरभ ढकालले केही दिन भित्रमा नै नायिकासहित पत्रकार सम्मेलन गर्ने जानकारी दिए । रोमान्टिक कमेडी कथामा बन्न लागेको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि सहकार्य गर्नेछन् । चलचित्रको छायांकन ए.आर पौडुवालले गर्दैछन् ।
उनी यतिबेला बलिउड चलचित्र नगरिमा व्यस्त रहेको जानकारी निर्देशक ढकालले दिएका छन् । लोचन घिमिरे चलचित्रका संगीतकार हुन् । किच्चामान चित्रकार चलचित्रका लेखक हुन् । यो चलचित्र वि.सं २०७४ साल वैशाख १५ गतेबाट देशभरका हलमा लाग्ने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको संगीतको काम मुम्बइमा नै सम्पन्न भएको छ । चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी रहने छ । चिनिमाया मानन्धर निर्माता रहने चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहनेछन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह–निर्माता हुन् ।