चलचित्र ‘नोभेम्बर रेन’ मा ‘डल्ली’ की भुमिका निर्वाह गरेकी नायिका छुल्ठिम गुरुङले आफ्नो जन्मदिनको केक काट्दै चलचित्र ‘डायरी’ को पनि छायाँकन सुरु गरेकी छिन् । शनिबार काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पुजा गर्दै छुल्ठिमले आफुले निर्माण र अभिनय गर्ने चलचित्र ‘डायरी’ को छायाँकन सुरु गरेकी हुन् । उनले यो चलचित्र पहिलो पटक निर्माण गर्न लागेकी हुन् । जन्मदिनको केक काट्दै गर्दा उनले आफ्नो उमेर भने खुलाउन चाहिनन् । शनिबार काठमाण्डौमा केही दृश्यहरु खिचिएको छ । यसपछि चलचित्र छायांकनका लागि टोली हेटौडा र चितवन पुग्नेछ । छुल्ठिमका अलवा यो चलचित्रमा रेखा थापा, सनी सिंह, राजु लामा, कुशल विष्ट, दिनेश डिसी, रुपा राना, विनोद पौडेल लगाएतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रलाई अनिल योञ्जनले निर्देशन गरिरहेका छन् । ‘डायरी’ मा नायिका रेखा थापा भिलेन ‘रानी’ को भूमिकामा प्रस्तुत हुनेछिन् ।