गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘प्रेम गीत’ का निर्देशक सुदर्शन थापाले नयाँ चलचित्रको घोषणा गरेका छन् । ‘प्रेम गीत’ चलचित्रकी नायिका पुजा शर्मा र ‘नाइँ नभन्नू ल ४’ का नायक पल शाहलाई मुख्य भुमिकामा देखाउँदै उनले ‘म यस्तो गीत गाउँछु’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् । यूएईको अवुधावीमा पहिलो पटक आयोजना भएको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ कार्यक्रममा निर्देशक थापाले यस्तो घोषणा गरेका हुन् । यो चलचित्रको टाइटल गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत’ को शिर्ष गीतबाट सापटी लिइएको हो । सुदर्शनलले दिएको जानकारी अनुसार यो चलचित्रको छायाँकन तिहारपछि सुरु हुनेछ ।
उनले चलचित्रको निर्माण घोषणा गर्दै पूजा र पलसँगै चलचित्रमा अभिनेता सरोज खनाल, नविण मानन्धरको पनि अभिनय रहने बताए । निर्देशक थापा आफैले तयार पारेको कथामा निर्माण हुन लागेको यो चलचित्रमा अर्जुन पोख्रेलका संगीत रहनेछ । चलचित्रका लागि दिनेश न्यौपानेले पटकथा तयार गर्दैछन् । चलचित्रलाई निर्देशक थापा आफैले निर्माण गर्न लागेका हुन् ।