सिंगल इन्जिन जहाज सञ्चालनमा सेवा प्रदायक कम्पनी र नियामक निकायबाट गम्भीर लापरबाही भएको पाइएको छ । १४ फागुन ०७२ मा नेपालगन्जबाट जुम्ला जाने क्रममा कालिकोटको चिलखायामा दुर्घटना भएको काष्ठमण्डप एयरको ‘९एन–एजेबी पिएसी ७५० एक्सएल’ जहाजमा जहाज बन्नुभन्दा १८ वर्ष पुरानो इन्जिन राखिएको र उक्त इन्जिनमा मर्मतकै क्रममा त्रुटि रहेको तथ्य छानबिन आयोगले सार्वजनिक गरेको छ । आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हरिबहादुर खड्काका अनुसार दुर्घटनामा परेको जहाज सन् २००९ मा बनेको थियो भने इन्जिन सन् १९९१ मा निर्माण भएको हो । आयोगले इन्जिन र स्टार्टर जेनेरेटर प्राविधिक परीक्षणका लागि क्यानडा पठाएको थियो ।
आयोगका अनुसार उक्त त्रुटिबारे सेवा प्रदायक कम्पनी गम्भीर थिएन भने नियामक निकायले त्यसमा कडाइ गर्न असफल देखिएको छ । काष्ठमण्डप एयरले अस्टे«लियाको तस्मान एभिएसन इन्टरप्राइज (टिएई) कम्पनीबाट भाडामा लिएको इन्जिन सन् २०१५ डिसेम्बरमा अमेरिकाको एयरफोर्स टर्वाइन सर्भिस (एटिएस)बाट पूरा मर्मत (ओभरहाल) गरिएको आयोगका सदस्य तथा इन्जिनियर रमेशकुमार सिंहले जानकारी दिए ।
इन्जिनको ओभरहाल गर्ने क्रममै भएको त्रुटिले ‘हेन्डलिङ ड्यामेज’ भएको र सोही कारण इन्जिन फेल भएको आयोगको निष्कर्ष छ । कम्पनीले इन्जिन भाडामा लिँदा लगबुक राम्रोसँग भेरिफाइ नगरेको र जडानपछि पनि नियमित चेकजाँच हुन नसकेको पाइएको छानबिन आयोगका संयोजक यज्ञप्रसाद गौतमले जानकारी दिए । उक्त इन्जिन काष्ठमण्डपभन्दा अगाडि एयर फिजीले चलाइसकेको थियो । फिजीको मल्टिइन्जिन जहाजमा चलाइएको इन्जिन परिवर्तन गरी काष्ठमण्डपको सिंगल इन्जिन जहाजमा राखिएको हो ।
आकस्मिक अवतरण गर्न यथाशक्य प्रयास
आकाशमै इन्जिन फेल भएपछि पनि पाइलटले जहाजको आकस्मिक अवतरणका लागि निकै प्रयास गरेको आयोगको प्रतिवेदनले देखाएको छ । १२ बजेर १६ मिनेटमा नेपालगन्जबाट जुम्लाका लागि उडेको जहाज १२ बजेर ३३ मिनेटमा अन्तिम सम्पर्कमा आएको थियो । त्यसपछि हराएको जहाज १२ बजेर ४६ मिनेटमा कालिकोटको चिलखाया गाविसस्थित खाली जग्गामा आकस्मिक अवतरण गरेको थियो । आकस्मिक अवतरणको प्रयास दुर्घटनामा परिणत भएपछि दुई पाइलटले ज्यान गुमाए पनि यात्रुलाई भने बचाउन सफल भएका थिए । ‘पाइलटले आकस्मिक अवतरण गर्न खाली र सजिलो जमिन खोजिरहेका थिए,’ छानबिन समितिका सदस्य तथा पाइलट महासेनानी सुवर्ण विष्टले भने, ‘चिलखायाको लोकेसन थाहा भएकै कारण यात्रु जोगिन सफल भएका छन् ।’ जहाजलाई पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानाले उडाएका थिए । दुर्घटनामा पाइलट र कोपाइलटको निधन भए पनि यात्रुलाई भने बचाउन सफल भएका थिए । जहाजमा १ नाबालकसहित नौ यात्रु सवार थिए ।
सुझाब कार्यान्वयनको प्रगति वेबसाइटमा राख्न निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले हवाई दुर्घटना जाँच आयोगका प्रतिवेदनले औँल्याएका सुझाब कार्यान्वयनको प्रगति वेबसाइटमा राखी सार्वजनिक गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । काष्ठमण्डप एयरको जहाज दुर्घटना प्रतिवेदन सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले हवाई सुरक्षा अभिवृद्धिमा भएका प्रयास सबै जनताले थाहा पाउनुपर्ने बताए । काम गरिरहेको कम्पनीबाट छिटो–छिटो पाइलट–इन्जिनियर परिवर्तन हुने प्रवृत्तिले दुर्घटना बढाएको भन्दै काम छाड्नु एक वर्ष पहिले नै जानकारी दिने प्रावधान बनाउन प्राधिकरणलाई निर्देशन दिए । यसै वर्ष स्थायी प्रकृतिको छानबिन आयोग बनाउने प्रतिबद्धता उनको छ ।
चार घन्टापछि मात्र पुगेको थियो उद्धार टोली
आकस्मिक अवतरणका क्रममा पाइलट र कोपाइलटलाई इन्जिन टुक्रिएर च्यापेको थियो । सोही कारण पाइलटको तत्काल निधन भएको थियो भने कोपाइलट करिब डेढ घन्टासम्म जीवित थिए । तर, हेलिकोप्टरसहितको उद्धार टोली घटना भएको चार घन्टापछि मात्र पुगेपछि उनलाई बचाउन सकिएको थिएन । नजिकको विमानस्थल मानिएको मुगुस्थित ताल्चा विमानस्थलमा रहेको श्री एयरको हेलिकोप्टरले चार घन्टापछि घाइते यात्रु र दुई क्रु मेम्बरको शव नेपालगन्ज ल्याएको थियो ।
नियामक निकायको अक्षमता
नेपालभित्र सञ्चालित वायुसेवा कम्पनीलाई ऐन–नियममा आबद्ध गराई सुरक्षित हवाई सेवा सञ्चालनको वातावरण बनाउन मन्त्रालय तथा प्राधिकरण असक्षम देखिएको आयोगले उल्लेख गरेको छ । एकै प्रकृतिका दुर्घटना बारम्बार दोहोरिँदा पनि दुर्घटना न्यूनीकरणका प्रयास प्रभावकारी हुन नसकेको, दक्षता अभिवृद्धि तथा प्रविधि विस्तारमा लगानी गर्न नसकेकोजस्ता कमजोरी नियामक निकायबाट भएका छन् ।
संकटमा पनि आत्तिएनन् पाइलट
जहाजलाई आकस्मिक अवतरण गराउँदै यात्रुको ज्यान जोगाउनमा पाइलटको कन्फिडेन्सले ठूलो भूमिका खेलेको सदस्यसचिव खड्काले बताए । उनका अनुसार पाइलटले यात्रुलाई डाढस दिँदै नआत्तिन आग्रह गरेका थिए भने भूगोलको सही आँकलन गरी जहाजलाई सुरक्षित अवतरण गराउने प्रयासमा थिए । संकटमा पनि नआत्तीकन निर्णय लिन सक्ने क्षमताले ठूलो मानवीय क्षति हुन नपाएको आयोगको निष्कर्ष छ । इन्जिनले पूर्ण रूपमा काम नगरेको अवस्थामा पनि पाइलटले इन्जिन पुनः सञ्चालनका लागि पटक–पटक प्रयास गरेका थिए । त्यो सम्भव नदेखेपछि जहाजलाई हावामा तैराएर (ग्लाइडिङ) आकस्मिक अवतरणको प्रयास गरेका थिए । इन्जिन फेल भएपछि आपत्कालीन अवस्थामा गर्नुपर्ने प्रक्रियाअनुसार नै जहाज करिब पाँच मिनेट हावामा तैरिएको र सो क्रममा विमानले आठ नटिकल माइल दूरी पार गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । -अच्युत पुरी/नयाँ पत्रिका