नेपालीहरुको महानपर्व विजयादशमीको घटस्थापनाको अघिल्लो दिन चलचित्र ‘मेन्टल’ देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्देशक सरोज पौडेलका अनुसार चलचित्र ‘मेन्टल’ असोज १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको जानकारी दिए । जीएसएम मिडिया क्याम्पको ब्यानरमा वसन्त बर्मा प्रस्तोता रहेको चलचित्र मेन्टलले देशको शासन व्यवस्थालाई समेत गतिलो प्रहार गरेको निर्माण पक्षको दाबी छ । जनताको चाहना पूरा नहुनुमा शासकहरू र शासनको विधि प्रमुख कारक भएको विषय चलचित्रले उठान गरेको छ । शिक्षित मानिस बेरोजगारीको चपेटामा परेर मानसिक रूपले विक्षिप्त बनेपछि केसम्म गर्न सक्छ भन्ने यथार्थ संघर्षलाई चलचित्रले समेटेको छ । सुदन धिताल, केयरसिंह भण्डारी र हरि क्षेत्री निर्माता रहेको चलचित्र मेन्टलमा प्रथम खड्का, पूजा भट्ट, सुरवीर पण्डित, रश्मि भट्ट, वसन्त बर्मा ज्योति रसाइलीलगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रमा भोजराज देवकोटाको लेखन, अर्जुन पोखरेल र राजन मगरको संगीत, राजेन्द्र सापकोटाको छायांकन, शंकर महर्जनको द्वन्द्व रहेको छ ।