बहुप्रतीक्षित फिल्म ‘बाहुबली–२’ को अहिले क्लाइमेक्स छायांकन चल्दै छ । आगामी १३ अप्रिलमा प्रदर्शनी हुने भनिएको यो फिल्मको क्लाइमेक्स दृश्यको केही तस्बिरलाई दृश्य बनाएर सार्वजनिक गरिएको छ । फिल्मको सुटिङमा प्राविधिकलाई मोबाइलसमेत प्रयोग गर्न निषेध गरिएको यो फिल्मको क्लाइमेक्स दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो फिल्मको अहिले आन्ध्र प्रदेशको रायलसीमा क्षेत्रमा क्लाइमेक्सको छायांकन हुँदै छ । फिल्मको प्रदर्शन तिथि नजिकिँदै गरेको बेला छायांकन नै नसकिएकामा यसको निर्माण पक्ष तनावमा छ । अर्कोतर्फ फिल्मको क्लाइमेक्सकै केही तस्बिर र दृश्य कसैले सार्वजनिक गरिदिएकामा उनीहरू झन् तनावमा परेका छन् । फिल्मका निर्देशक एस एस राजामौलीले सुटिङको दृश्य कसरी बाहिरियो भन्दै कलाकारदेखि प्राविधिकसम्म जानकारी मागे पनि सबैले आफूलाई जानकारी नभएको बताएका छन् । यसअघि पनि फिल्मका केही दृश्य लिक भएपछि ती दृश्यको पुनः छायांकन गरिएको छ । तर, क्लाइमेक्सको लोकेसनसहित विभिन्न तस्बिर बाहिर आएपछि फिल्ममा केही असर भने पर्ने नै देखिन्छ ।