अनमोल केसीसँग चलचित्रमा काम गरिसकेका वा गर्न लागेका यूवतीहरुको चर्चा नेपाली सिनेवृतमा अलि बढी नै हुने गर्छ । ४ चलचित्रबाट सुपरस्टारको छवि बनाइसकेका अनमोल केसी चाँडै आफ्नो पाँचौ नयाँ चलचित्र ‘कृ’ मा व्यस्त हुँदैछन् । केही महिना अगाडी मात्र उनले चलचित्र ‘कृ’ का लागि २० लाख पारिश्रमिक लिँदै नेपालका सर्वाधिक महँगा नायक बनेका थिए ।
चलचित्र ‘कृ’ का लागि अनमोलले २० लाख पारिश्रमिक लिँदै काम गर्ने भएपछि यस चलचित्रमा काम गर्ने नायिकाको खोजी पनि व्यापक भयो । त्यही क्रममा निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टले अनमोलका लागि नायिका खोज्ने काम सुरु गर्यो । अनमोल चलचित्र ‘कृ’ मा अनुबन्धित भएको केही दिनपछि नै निर्माण कम्पनीले नायिकामा मोडल आदिती बुढाथोकीलाई फाइनल गरेको थियो । त्यसपछि आदिती बुढाथोकीको चर्चासँग उनले गर्ने हरेक गतिविधिहरुमा अहिले मिडिया र दर्शकहरुको नजर राम्रै पर्न थालिसकेको छ ।
मोडल आदिती बुढाथोकी अहिले भारतको मुम्बईमा छिन् । केही भारतीय म्यूजिक भिडियोको छायाँकनका लागि आदिती भारतको मुम्बईमा रहँदै आएकी छिन् । अभिनय तथा भाषाको प्रशिक्षण, फोटोसेसन, कमर्सियल तथा म्युजिक भिडियोको छायांकन लागि भारतको मुम्बईमा रहेकी आदितीले चाँडै चलचित्र ‘कृ’ को लागि नेपाल आउने बताएकी छिन् । उनले सोनी म्युजिकसँग तीनवटा म्युजिक भिडियोका लागि कन्ट्रयाक्ट साइन गरिसकेकी छिन् । उनले उक्त तीन म्यूजिक भिडियो सकाएपछि मात्र नेपाल फर्किने बताइएको छ । चलचित्र ‘कृ’ को छायाँकन माघ-फागुनबाट सुरु हुनेछ । (तस्बिरहरु आदिती बुढाथोकीको फेसबुकबाट)