अनमोल केसीसँग चलचित्रमा काम गर्न चाहने यूवतीहरु कति होलान ? तर अनमोलसँग काम गर्न भने जस्तो सजिलो कहाँ छ र ! ‘होस्टेल’ चलचित्रपछि लगालग सुपरहिट चलचित्र दिएका अनमोलको क्रेज अहिले नेपालमा कस्तो छ त्यो हामी सबैले देख्दै आइरहेका छौ ।
यूवती फ्यानका धनी अनमोल केसीले २० लाख पारिश्रमिक लिँदै हालै चलचित्र ‘कृ’ का लागि साइन गरेका छन् । अनमोलले चलचित्र ‘कृ’ का लागि साइन गरेको दिनबाट नै निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टले नायिकाको खोजी सुरु गरेको थियो ।
एक महिना लामो नायिकाको खोजीपछि निर्माण कम्पनीले अनमोलको लागि हिरोइन पक्का गरेको छ । ३० जनाले हिरोइनका लागि आवेदन दिएका मध्ये १० जनालाई छानेर अडिसन लिइएको थियो । १० जना मध्येबाट मोडल अदिती वुढाथोकीलाई फाइनल गरिएको निर्माता सुवास गिरीले जानकारी दिएका छन् ।
बलीउड अभिनेत्री जस्ती लाग्ने अदिती अनमोलसँग चलचित्र ‘कृ’ मा रोमान्स गर्ने भाग्यमानी यूवती बनेकी छिन् । सामाजिक सञ्जालबाट लाखौं प्रशंसक बटुलिसकेकी अदितीले भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् ।
अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् । सुवास गिरी र अनमोलका पिता भुवन केसी निर्माता रहने यो चलचित्रलाई चर्चित सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् ।