भदौंको सुरुवात नेपाली चलचित्रक्षेत्रका लागि केही आशलाग्दो देखिएको थियो । भदौंको सुरुवातमा नै एकै मितिमा दुई चलचित्र प्रदर्शनमा आएका थिए, ‘चपली हाईट २’ र ‘वीर विक्रम’ । यि दुवै चलचित्रले आफ्नो लगानी सुरक्षित गरेको बताइएको छ । त्यसपछि प्रदर्शनमा आएका अन्य चलचित्रहरुले खासै सुखद व्यापार गर्न सकेनन् । अनि लाग्यो भदौ २४ । यो मितिमा सोलो रिलिजको मौका पायो चलचित्र ‘छक्का पन्जा’ ले । ‘छक्का पन्जा’ ले आफ्नो लगानी मात्र होइन कयौं रेकर्ड ब्रेक गर्दै बोराका बोरा पैसा बटुल्न सुरु गर्यो । दैनिक सिनेमा घरहरुमा ‘छक्का पन्जा’ हेर्न दर्शकहरुको महासागर नै लागिरहेको बेला भदौ ३१ गते दुई चलचित्र प्रदर्शनमा आए तर ‘छक्का पन्जा’ को अगाडी दुवै चलचित्र फ्ल्पको सूचीमा दर्ता भए । केही आश थियो चलचित्रकर्मीहरुलाई भदौ ३१ गते प्रदर्शनमा आएको चलचित्र ‘गाँठो’ बाट तर कमजोर कथावस्तुका कारण ‘गाँठो’ दुई दिन पनि हलमा टिक्न सकेन ।
त्यसपछि प्रतिक्षित मानिएको चलचित्र थियो ‘झुम्की’, जुन असोज ७ गते अर्थात अहिले प्रदर्शन भइरहेको छ । नाम चलेका कलाकारहरु लिएर निर्माण गरिएको चलचित्र ‘झुम्की’ को अबस्था पनि अहिले हेर्न लायकको छैन । ‘गाँठो’ भन्दा केही राम्रो व्यापार गरेपनि चलचित्र ‘झुम्की’ ले अब आफ्नो लगानी सुरक्षित गर्ने अबस्था भने छैन । समिक्षकहरुबाट केही राम्रो प्रतिक्रिया पाएपनि चलचित्र ‘झुम्की’ हेर्न अहिले हलमा दर्शकहरुको भिड नै छैन, जसले गर्दा ‘झुम्की’ पनि असफल भयो भन्दा गलत नहोला । अपिल बिष्टको निर्देशनमा तयार भएको चलचित्र ‘झुम्की’ मा रिस्मा गुरुङ, मनोज आरसी, मलिना जोशी, दयाहाङ राई, प्रमोद अग्रहरी, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र ‘झुम्की’ असफल हुनुमा चलचित्र ‘छक्का पन्जा’ मुख्य कारण हो किनकी अहिलेसम्म चलचित्र ‘छक्का पन्जा’ ले हल छोडेको छैन भने तेस्रो हप्तामा पनि दर्शकहरु सिनेमा घरहरुमा राम्रो हुलिरहेको छ । रिलिजमा आएको दिनदेखी हालसम्ममा झण्डै ८ करोडमाथीको विजनेश गरिसकेको ‘छक्का पन्जा’ अझै केही हप्ता सफलतापूर्वक चल्नेमा हल सञ्चालकहरु ढुक्क छन् । अब असोज १४ गते अर्थात यही हप्ता अर्को नयाँ चलचित्र प्रदर्शनमा आउँदैछ, त्यो हो चलचित्र ‘सफर’ । यस हप्ताबाट चौथो हप्तामा प्रदर्शन हुन लागेको ‘छक्का पन्जा’ ले ‘सफर’ लाई चाहीँ कस्तो टक्कर देला त्यो भने शुक्रबारबाट नै थाहा हुन्छ तर लगातार प्रतिक्षित मानिएका चलचित्रहरु असफल हुँदै गर्दा ‘छक्का पन्जा’ ले भने अहिले हलहरुमा राम्रै राज गरिरहेको छ ।