नेपाली कलाकारहरुका फ्यानहरु नेपालमा पनि असंख्य छन् । पर्दामा देखेका कलाकारहरुलाई एक पटक भेट्न पाए हुन्थ्यो, सेल्फी खिच्न पाए हुन्थ्यो, मनका केही कुरा भन्न पाए हुन्थ्यो त्यो प्रत्येक फ्यानको मनमा उब्जिरहने कुरा हुन् । कतिका सपना पुरा पनि हुन्छन् तर कति पर्दामा आफ्नो स्टारलाई देखेर नै सपना पुरा गर्ने गर्छन । तपाईहरु जुन नेपाली स्टारको फ्यान हुनुहुन्छ ति मध्ये केही स्टार कलाकारहरु पनि बलीउड तथा हलीउड कलाकारहरुका फ्यान हुन् । ‘नाइँ नभन्नू ल’ सीरिजका बाल कलाकार अनुभव रेग्मी बलीउडस्टार सलमान खानका फ्यान हुन् भने नायक आर्यन सिग्देल पनि सलमानका डार्यहार्ट फ्यान हुन् । आर्यन त सलमान खानकै शैली पछ्याइरहेका हुन्छन् । उनले धेरै पटक आफु सलमान खानको अभिनयबाट प्रभावित भएको पनि बताइसकेका छन् । यस्ता धेरै नेपाली सेलिब्रेटीहरु छन् जो बलीउड र हलीउड कलाकारहरुका डार्यहार्ट फ्यान हुन् ।
ति मध्ये नायिका पुजा शर्मा पनि पर्छिन । गएको बर्ष सुपरहिट चलचित्र ‘प्रेमगीत’ मा अभिनय गरेकी पुजा शर्मा बलीउडस्टार शाहरुख खानकी डार्यहार्ट फ्यान हुन् । उनले हालै एक भिडियो अन्तर्वार्तामा यो कुराको खुलासा गरेकी हुन् । उनले आफु शाहरुख खानको हेयर स्टाइल देखी अभिनयको फ्यान रहेको बताउँदै शाहरुख खानबाट नै आफु अभिनयमा लाग्न प्रेरण मिलेको पनि बताएकी छिन् । उनले भनिन्, ‘म यो ठाउँमा आउनुको कारण पनि शाहरुख खान नै हो किनकी म शाहरुख खानको डार्यहार्ट फ्यान हुँ । उहाँ काठमाडौं आउँदा खेरी मैले चाहेको भएँ भेट्न सक्थें पनि होला । तर म पनि नेपाली कलाकार भएका कारण शाहरुख खानको अगाडी म तपाईको फ्यान हुँ भन्दै जानु उचित लागेन । त्यस बेला म कृष्ण मन्दिरमा गएर २-३ घण्टासम्म एक्लै रोएँ । त्यति बेला होटल हायतमा शाहरुख खानको कार्यक्रम चलिरहेको थियो । किनकी मेरो आइडियल नै नेपाल आएको थियो तर म जान सकिरहेको थिइन् । यदी नेपाल बाहिर त्यो अवसर पाएँ भने शाहरुख खानलाई पक्कै भेट्ने छु ।’
चाँडै सुदर्शन थापाले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पल शाहसँग स्क्रिन शेयर गर्न लागेकी पुजा शर्माले ‘प्रेमगीत’ बाट धेरै फ्यानहरु बटुलिसकेकी छिन् । जसरी शाहरुख खानलाई एक पटक पुजा भेट्न चाहान्छिन् त्यसरी नै पुजालाई पनि अहिले एक पटक भेट्न चाहने फ्यानहरुको कमी नहोला । चलचित्र ‘प्रेमगीत’ पछि उनलाई आफ्नो स्टार कलाकार मान्ने दर्शकहरु अहिले धेरै छन् ।