कुनै बेलाकी चलेकी नायिका उषा पौडेललाई दर्शकले नेपाली चलचित्रमा नदेखेकॊ धेरै बर्ष भइसक्यो । विस्तारै नेपाली चलचित्रमा आफ्नो करियर ढल्कदै गएपछि केही बर्ष अगाडी उनी सुरक्षित भविष्य खोज्दै भारत लागिन् । भारतीय चलचित्रमा काम गर्न पाइन्छ भन्ने सोचले उनी मुम्बई गएपनि उनको त्यो सपना भने पुरा भएन् । भारत बसाईको क्रममा उनले केही भारतीय टिभी सिरियलमा पनि काम गरिन् तर सिरियलमा आफ्नो भुमिका नकारात्मक भएपछि उनी भारतबाट सिधै अमेरिका हानिइन । अहिले उनी अमेरिकामा नै छिन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’माथि बनेको चलचित्रमा ‘मुना’ को भुमिका निर्वाह गरेकी उनलाई उक्त चलचित्रमा दर्शकहरुले निकै रुचाएका थिए । विस्तारै चलचित्रबाट नायिकाको अफर आउन छोडेपछि उनले केही नेपाली चलचित्रमा आइटम डान्स समेत गरेकी थिइन । भारतमा रहँदा उनको अफयेर नायक राहुल रोयसँग चलेको पनि खबर बाहिर आएको थियो तर उनले यो कुरालाई नकारेकी थिइन । केही बर्षदेखी अमेरिकामा रहँदै आइरहेकी उषा पौडेल अब नेपाली चलचित्रमा फर्किएर काम गर्ने मनसायमा छैनन् ।
अमेरिकामा नै सेटल हुने तयारीमा लागेकी उषाले भारतमा रहँदा चरित्र अभिनेता अनुपम खेरको याक्टर पर्फ स्कुलमा योगा, मार्सल आर्ट, क्यामेरा, डान्स, निर्देशनको तालिम समेत लिएकी थिइन तर भारतमा पनि आफ्नो करियर सुरक्षित नदेखेपछि उनी पनि अन्य नेपाली अभिनेत्रीहरु जस्तै पलायनकै बाटो रोजिन् ।
स्रोतका अनुसार अहिले उनी अमेरिकामा हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गर्ने गर्छिन । जुलाई १८, १९८३ मा जनकपुरमा जन्मिएकी उषाले ‘कर्मा’, ‘प्यारी बहिनी’, ‘गंगा’, ‘राम लक्ष्मण’, ‘क्रोध’, ‘तिम्रो माया’ लगायत दर्जन बढी नेपाली चलचित्रमा काम गरिसकेकी छिन् । उमेरले ३३ बर्षमा लागिसकेकी उषा हालसम्म भने अविवाहित नै छिन् ।