नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित सब स्टेसनमा आज दिउँसो लागेको आगोले काठमाडौँ उपत्यकामा एक घण्टाभन्दा बढी विद्युत आपूर्ति ठप्प हुन पुग्यो।
स्युचाटारको १३२ केभी लाइनबाट नै काठमाडौँ उपत्यका भरी विद्युत प्रसारण हुने भएकोले आगो लागेसँगै काठमाडौँ उपत्यका भर विद्युत आपूर्ति ठप्प भएको हो।
जुद्ध वारुण यन्त्रका प्रमुख किशोरकुमार भट्टराईले विद्युत सबस्टेसनमा लागेको आगो पानीले निभाउन नमिल्ने हुनाले फोम केमिकलले निभाएको जानकारी दिए।
आगो नियन्त्रणका लागि चार वटा दमकल त्यहाँ पुगेको उनले बताए।
आगो कसरी लाग्यो भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ। स्युचाटार सब स्टेसनका कर्मचारीका अनुसार एउटा ट्रान्सफर्मर पूर्ण रुपमा जलेको छ। ‘भित्र वाइन्डिङ जलेको हुनसक्छ, थप विवरण आउन बाँकी छ’, उनले भने।
उनका अनुसार एक घण्टापछि विद्युत आपूर्ति सुचारु गरिएको थियो। -पहिलोपोष्ट डटकम