‘कहीँ मिलन कहीँ विछोड’ बाट चलचित्र निर्देशनमा हात हालेका निर्देशक ऋषि लामिछानेले निर्देशन गरेको सातौं चलचित्र ‘किस्मत २’ यही असोज २१ गतेबाट रिलिज हुँदैछ । विशेषत नारी प्रधान चलचित्र निर्देशन गर्न माहिर ऋषि लामिछानेले ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘श्रीमान्–श्रीमती’, ‘हाम्रो माया जुनीजुनीलाई’, ‘सरी ल’ र ‘हवल्दार सुन्तली’ चलचित्र निर्देशन गरिसकेका छन् । सफल निर्देशकको रुपमा आफुलाई स्थापित गराइसकेका ऋषि लामिछानेले आफुलाई निर्माता छविराज ओझासँग काम गर्न कुनै गाह्रो नहुने बताएका छन् ।
एक अन्तर्वार्ताको क्रममा उनले नारीकेन्द्रित चलचित्र बनाउन पाउँदा निकै खुसी महशुस गर्ने गरेको पनि बताएका छन् । उनले भने -‘नारी ब्रम्हाले सृष्टि गरेको यो ब्रम्हाण्डको सबैभन्दा सुन्दर रचना हो । यिनै सुन्दर रचनामा केन्द्रित फिल्म बनाउनु मेरा लागि गर्वको कुरा हो । त्यसैले म नारीभावनात्मक फिल्म बनाउन अलि बढी मन पराउँछु ।’ उनले आफुले निर्देशन गरेको चलचित्र ‘किस्मत २’ पूर्ण मनोरन्जक, मसलाले भरिएको चलचित्र भएको बताए । उनले चलचित्र ‘किस्मत २’ को विषयमा बोल्दै अगाडी भने -‘उपल्लो मुस्ताङको अत्यन्तै गरिब परिवारमा जन्मिएकी एक युवतीको जीवनसंघर्षको कथा यो फिल्मले भन्छ । अति गरिब युवती राजधानीको आलिसान महल हुँदै सडकमा कसरी आइपुग्छे भन्ने कुरा देखाइएको छ ।’
उनले चलचित्र ‘किस्मत–२’ को हिरो नै शिल्पा पोखरेल रहेको पनि बताएका छन् । चलचित्रलाई निर्माता छविराज ओझाले निर्माण गरेका हुन् । यो चलचित्रमा शिल्पाका अलवा पृथ्वीराज प्रसाइँ र किशोर खतिवडा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।