नेपाली गायक-गायिकाहरुको कमाई कन्सर्ट र कार्यक्रमहरुबाट नै बढी हुने गर्छ । त्यसैले नेपाली कलाकारहरु कन्सर्ट भनेपछि भुतुक्कै हुने गर्छन । अझ विदेशमा हुने कन्सर्टहरुमा त झन कलाकारहरुको कमाई निकै राम्रो छ । देश विदेशका कन्सर्टहरु कलाकारका लागि देश पनि हेरिने मुख पनि फेरिने मात्र होइन राम्रो कमाईको बाटो पनि बनेका छन् । पशुपति शर्मा, बद्री पंगेनी, मुना थापा मगर, प्रमोद खरेल, शिव परियार लगायतका यस्ता केही चर्चित गायक-गायिकाहरु छन्, जो देश विदेश घुमेर मात्रै पनि लाखौं कमाई गर्दै आइरहेका छन् । ति मध्येका एक सर्वाधिक व्यस्त गायक हुन राजेश पायल राई । असोज १४ गते आफ्नो जन्मदिन मनाएका राजेश पायल राई उमेरले ४५ बर्षका भइसकेका छन् ।
सुगम संगीत तथा चलचित्र पार्श्व गायनका वादशाह राजेशपायल राईले केही दिन अगाडी मात्र हिट एल्बम दर्शन नमस्तेको तेस्रो सिक्वेल सार्वजनिक गरेका थिए । अहिले उनी नेपाली चलचित्र तथा आधुनिक गीतहरु रेकर्ड गराउनमा नै बढी जसो व्यस्त छन् । जब चार्डपर्वहरु सुरु हुन्छ तब त उनको आवाजमा गीत रेकर्ड गराउने सपना धेरैको चकनाचुर पनि हुन्छ । चार्डपर्व सुरु भएपछि उनको व्यस्तता अन्य गायकहरुको तुलनामा बढी नै हुने गर्छ । उनी बढी जसो विदेशमा हुने कार्यक्रममा व्यस्त हुने गर्छन । यो भन्दा गलत नहोला कि उनी नेपालका अन्य गायक गायिकाहरु भन्दा कन्सर्ट लगायतका कार्यक्रमहरुबाट सबैभन्दा बढी आम्दानी गर्ने गर्छन । उनले यो बर्षको दशैं र तिहार अमेरिका, क्यानडा र हङकङ लगायतका देशहरुमा विताउने भएका छन् । झण्डै २ महिनाका लागि उनी चाँडै अमेरिका प्रस्थान गर्दैछन् । हालै एक रेडियो अन्तर्वार्ताको क्रममा उनले उक्त २ महिनाको अवधीमा आफ्नो कमाई १ करोड माथीको हुने बताएका छन् ।
उनले आफ्नो कमाईको विषयमा बोल्दै भने -‘अब नेपाली कलाकारको तुलनामा हेर्नुहुन्छ भने यो रकम बढी नै हो । करोडमा आम्दानी भन्ने कुरा नेपालमा अहिलेपनि अचम्म लाग्दो र लोभलाग्दो नै हो । तर तपाईं एउटा कलाकारको दुःख मेहनत परिश्रम र त्यो ठाउँमा पुग्नका लागि गरेको संघर्ष सम्झिनुहुन्छ भने त्यो पनि कमै हो भन्ने लाग्छ । २५ बर्ष हुन लाग्यो यतिका बर्षसम्म म नेपाली गीतसंगित मै लागेको छु भनेपछि यो ठूलो रकम हो भन्ने मलाई लाग्दैन ।’ नेपाली चलचित्र उद्योगको गीत संगीतको लागी राजेशपायल राई सर्वोच्च नाम हो । उनले स्वर दिएका दर्जनौं चलचित्रका दर्जनौं गीत दर्शक श्रोतामा लोकप्रिय छन् ।