प्रत्येक दिन नेपाली बजारमा दर्जनौ म्यूजिक भिडियो सार्वजनिक हुन्छन् तर हालसम्म म्यूजिक भिडियो निर्माण गर्ने व्यक्ति, कलाकार देखी प्राविधिकहरुलाई अहिलेसम्म प्रोत्साहन स्वरुप कुनै पनि अवार्ड भएको पाइँदैन । तर पहिलो पटक अन्तरराष्ट्रिय रुपमा विदेशमा नेपाली म्यूजिक भिडियो अवार्ड आयोजना हुने भएको छ । सेप्टेम्बर ९ अर्थात भदौ २४ गते यूएइको अबुधाबीमा यो अवार्ड आयोजना हुन लागेको हो । मंगलबार राजधानीमा ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ को विषयमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको तयारी र कार्यक्रम शैलीको बारेमा जानकारी दिइएको छ । संगीक्षा फिल्मस्को आयोजनामा यूएइको नमस्ते ट्राभल्स्ले अवार्ड आयोजनामा सहकार्य गर्नेछ ।
यूएइबाट पत्रकार सम्मेलनका लागि नेपाल आएका महेश गिरी र एकेन्द्र थापाले अवार्डको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै थापाले आफू यूएइ फर्किएपछि अवार्डको प्रचार र तयारी सुरु गर्ने बताए । उनले नेपाली कला र सस्कृतीलाई विदेशमा पनि अगाडि बढाउन अवार्डको आयोजना गर्न लागिएको जानकारी दिए । यस्तै, आयोजक मध्येका अर्का एक महेश गिरीले दुबई, अवुधावीमा पुगेर बलिउड चलचित्रको छायांकन हुने, अवार्ड हुने भन्दै अब नेपाली म्यूजिक भिडियो अवाडले नयाँ शैलीको ढाँचा कोर्ने बताए । उनले यो अवार्ड म्यूजिक क्षेत्रको मात्र नभएर देशकै अवार्ड भएको बताए । संगीक्षा फिल्मस्का अध्यक्ष तथा अवार्ड आयोजना गर्न लागेका मनोज केसीले चलचित्रपछि आफूले म्यूजिक भिडियोको अवार्डमा हात हालेको बताए ।
उनले आफूले पैसा कमाउन भन्दा पनि मलामी कमाउनका लागि यस्ता खालका कार्यक्रम गरेको बताउँदै अवार्डमा कुनै धाँधली नहुने स्पष्ट पारे । पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा १७ विधामा अवार्ड प्रदान गरिदैछ । अवार्डमा सहभागी हुनका लागि ५० जनाको कलाकार र पत्रकारको टोली यूएइ पुग्नेछन् । अवार्ड आयोजना गर्न लागेको केसीका अनुसार यही अवार्डमा चलचित्र क्षेत्रका ४ जना हस्तीलाई पनि सम्मान गरिनेछ । उनका अनुसार गतबर्षको ‘पपुलर चलचित्र, पपुलर निर्देशक, पपुलर नायक र पपुलर नायिका’लाई सम्मान गरिनेछ । यस्तै, यूएइमा बसेर नेपाली संगीतमा लागिरहेका संगीतकर्मीलाई पनि सम्मान गरिनेछ । अबुधाबीमा हुने म्यूजिक भिडियो अवार्डलाई शुभकामना दिन कार्यक्रममा गायिका रेखा शाह, मोडल पल शाह, नायिका पुजा शर्मा, संगीतकार अर्जुन पोख्रेल लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।