नायिका शिल्पा पोख्रेल र निर्माता छविराज ओझाको बिहे चर्चाले असोज २१ गते प्रदर्शनमा आएका चलचित्र ‘किस्मत २’ सफल हुन निकै ठूलो साथ मिल्यो । यि दुईको बिहेको चर्चाले नै ‘किस्मत २’ सफल भएको मान्नेहरु पनि अहिले धेरै छन् । हाल प्रदर्शन भइरहेको चलचित्र ‘किस्मत २’ को प्रचारका लागि निर्माता छविराज ओझा, नायिका शिल्पा पोख्रेल र नायक पृथ्वीराज प्रसाई मोफसल दौडाहमा छन् । त्यहि क्रममा वुधबार झापामा आयोजित एक पत्रकार सम्मेलनमा नायिका पोख्रेलले छविराज ओझासँगको बिहेको विषयमा पनि मुख खोलेकी छिन् । उनले आफू र निर्माता ओझाको विहे एक वर्ष पछि हुने बताएकी छिन् । उनले भनिन् ‘ज्योतिषले एक वर्षपछि मात्र बिबाह गर्नु भनेका छन्। त्यसैले हामी एक वर्षपछि मात्र बिबाह गर्छौ।’ यो पनि चलचित्र चलाउने उपाय होइन भन्ने पत्रकारको प्रश्नमा शिल्पाले भनिन्, ‘पहिला त छविजीले चलचित्र चलाउन यसो गर्नुभएको थियो तर रेखासंगको औपचारिक रुपमा सम्बन्ध विच्छेदपछि पहिलो रोजाई शिल्पा भनेपछि हामी बिबाह गर्ने भएका हौँ।’ निर्माता ओझाले पनि रेखा थापासँग सम्बन्ध विच्छेद गरेका कारण अब शिल्पा संग बिबाह गर्ने बताए। उनले भने,‘घरमा ९४ वर्षकी आमालाई बुहारी चाहिएको छ। अब पूर्वबाट फर्किएपछि म शिल्पाको परिवारसंग कुरा गर्छु। पहिला त शिल्पाले मुख नखोलेका कारण मलाई कुरा गर्न सहज थिएन तर अब सहज भएको छ।’ यि दुईको विवाह यही दशैंको टीकाको दिन हुने भन्ने पनि खुबै हल्ला चलेको थियो ।