नायिका रञ्जना शर्मा ७ बर्षपछि अमेरिकाबाट नेपाल फर्किएकी छिन् । दशैं मान्न नेपाल आएकी रञ्जना अहिले पारिवारिक भेटघाटमा नै व्यस्त छन् । ७ बर्षपछि नेपाल फर्कदा परिवारहरुसँग घुलमिल हुन रञ्जनालाई केही दिन लागेको थियो । केही बर्षको अन्तरालपछि काठमाडौं फर्कदा उनले खासै परिवर्तन भने पाइनन् । एक अन्तर्वार्तामा उनले भनिन्, ‘खै ७ बर्ष अगाडी म अमेरिका जाँदा पनि काठमाडौं यस्तै थियो अहिले पनि उस्तै देख्छु । पहिलाको भन्दा अहिले महंगी चाहिँ ह्वात्तै बढेछ । केही दिन अघि मात्रै दरवारमार्गको एउटा कफिसपमा तीन जनाले कफि खाएको १८ सय बिल तिरेको देखाउदै उनले सोधिन् ‘यस्तो महंगीमा कसरी धानिएको होला मध्यमवर्गीय काठमाडौंवासीको जीवनशैलि ?’
केही महिना नेपालमा रहने तयारीमा रहेकी रञ्जना अमेरिकामा भने व्यूटिपार्लर सञ्चालन गर्दै आइरहेकी छिन् । एक हप्ताका लागि लुक्ला, अन्नपूर्ण बेसक्याम्प घुम्न जाने सोचमा रहेकी रञ्जनाले नेपालमा रहँदा केही म्यूजिक भिडियोमा समेत काम गर्ने बताएकी छिन् । उनले अगाडी भनिन्, ‘धेरै बर्ष भयो म जन्मेको ठाउँ पनि जान पाएकी छैन त्यसैले यो पटक आफ्नो जन्मथलो निजगढ पनि जाँदैछु ।’ ७ बर्ष अमेरिका बस्दा रञ्जनालाई एउटा कुराको चाहिँ निकै याद आयो रे ! त्यो हो काठमाडौंको धुँवा-धुँलो । उनले अगाडी थप्दै भनिन्,‘अमेरिका पुगेपछि यहाँको धुँवा धुलो र कोलाहालको पनि तिर्सना लाग्दो रहेछ । जति टाढा भयो उति माया लाग्दो रहेछ आफ्नो गाउँ ठाउँको ।’
५ बर्ष अघि निर्देशक श्रीमान श्याम भट्टराईसँगको बैबाहिक सम्बन्ध तोडेर रञ्जना अमेरिका हान्निएकी थिइन् । टेलिचलचित्र ‘गहना’ वाट अभिनय सुरु गरेकी रञ्जनाले ‘मौसम’, ‘मर्यादा’, ‘कन्यादान’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् भने केही म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरिसकेकी छिन् । श्याम भट्टराईसँगको बैबाहिक सम्बन्ध तोडेपछि रञ्जना अहिले सिंगल छिन् ।