नायिका मेलिना मानन्धरलार्ई दर्शकहरुले पर्दामा देख्न नपाएको केही बर्ष भइसकेको छ । नायक मुकेश ढकालसँग बैबाहिक सम्बन्धमा बाँधिएपछि उनको सक्रियता नेपाली चलचित्रमा कम भएको हो । अझ छोरीकी आमा बनिसकेपछि त उनी चलचित्रमा देखिन नै छोडिन् । तर केही बर्षको अन्तरालपछि मेलिना पुनः एक चलचित्रमार्फत पुनरागमन गर्दैछिन् । चलचित्र ‘रोमियो’ मा मुख्य भुमिका निर्वाहा गर्न लागेकी मेलिनाले आफु केही बर्षको अन्तरालपछि चलचित्र आउनुको विषयमा मुख खोलेकी छिन् । ‘धेरैले मलाई फिल्मबाट अफर नआएको कारण काम नगरेको होला भनेर पनि भने तर त्यसो होइन मलाई केही चलचित्रहरुबाट अफर आएको थियो तर म सेन्सर बोर्डको सदस्य भएका कारणले पनि चलचित्रमा काम गर्न पाइरहेकी थिइन्’, उनले भनिन्, ,मैले चलचित्रमा काम नगर्नुको अर्को कारण भने मेरो नानी । छोरी भएपछि मैले परिवारलाई बढी जसो समय दिइरहेको छु ।’ मेलिनाले थपिन्, ‘अब भने मेरो छोरी हुर्कि सकेकी छिन् त्यसैले अब म निरन्तर चलचित्रमा आउनेछु ।’
उनले बिहिबार चलचित्र ‘रोमियो’ को घोषणा कार्यक्रममा बोल्दै आफु चलचित्र खेले पनि तत्काल सहायक रोल र आमाको रोलमा भने नदेखिने बताइन् । नेवारी भाषाको चलचित्र ‘बलमाइजु’ मा गरेको कामको आधारमा उनले २०१० मा राष्ट्रिय चलचित्र अवार्ड समेत प्राप्त गरेकी थिइन् । मेलिनाले अभिनय गरेका प्रियसी, जाली रूमाल, प्रेम पिन्ड, सिमाना, मामाघर लगायतका केही चलचित्रहरु सफल मानिन्छन् ।