अविश्वास प्रस्तावमाथि मतदानअघि नै प्रधानमन्त्री पदबाट राजीनामा दिएर नयाँ सरकारका लागि बाटो छाडेको नेकपा एमालेले बुधबार हुने प्रधानमन्त्री निर्वाचनमा विपक्षमा मतदान गर्दै छ।
एमाले स्थायी कमिटीको मंगलबार बालुवाटारमा भएको बैठकले हार्ने निश्चित रहेको बुधबारको निर्वाचनमा उम्मेदवारी नदिने तर नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका उम्मेदवार पुष्पकमल दाहालविरुद्ध भने मतदान गर्ने निर्णय लिएको हो ।
‘बैठकले जारी प्रधानमन्त्री पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी नदिने, नेकपा (माओवादी केन्द्र) र नेपाली कांगे्रसको गठबन्धनद्वारा प्रस्तुत हुने उम्मेदवारका विपक्षमा मतदान गर्ने र जिम्मेवार प्रतिपक्षमा बस्ने निर्णय गरेको छ,’ प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘राजनीतिमा ध्रु्रवीकरणभन्दा संविधान कार्यान्वयन, निर्वाचन र पुनर्निर्माणजस्ता विषयमा सहमतिसाथ अघि बढ्नुपर्छ, आजको आवश्यकता हो ।’
उनले प्रतिपक्षी दलमा बसेर गुण र दोषका आधारमा सरकारको कामको समर्थन र विरोध हुने बताए ।
‘प्रतिशोध, बदलाको राजनीतिको पक्षमा होइनौं । हामीले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका छौं । तिक्तता बढाएर जानु हँुदैन,’ सचिव प्रदीप ज्ञवालीले भने, ‘इस्युका आधारमा सरकारको समर्थन र विरोध गर्छाैं।’ धेरै विषयमा अहिलेको गठबन्धनका काम शंकास्पद भएको उनले बताए ।
‘देशको परनिर्भरता हटाउन प्रधानमन्त्री ओलीले चाल्नुभएका कदम उल्टाउने काम हुन्छ कि भन्ने शंका छ,’ ज्ञवालीले भने, ‘डेढ वर्षभित्र संविधानले निर्धारण गरेका काम नगरेर संवैधानिक रिक्तता निर्माण गर्ने हो कि भन्ने शंका छ ।’
बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुआतमा उम्मेदवार दिने वा नदिने र दिने हो भने कसलाई दिने भन्ने विषयमा सदस्यहरुको धारणा माग गरेका थिए ।
ओलीपछि बैठकमा बोल्दै उपमहासचिव घनश्याम भुसालले अविश्वास प्रस्तावको मतदानअघि नै प्रधानमन्त्रीले राजीनामा दिएर पार्टीको प्रतिष्ठा बढेको भन्दै उम्मेदवारी नदिई प्रतिपक्षमा बस्दा वातावरण सहज हुँदै जाने धारणा राखेका थिए ।
त्यसपछिका अधिकांश सदस्यले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने पक्षमा धारणा राखेका थिए। -नागरिक