यो वर्षको दसैँ सकियो । सबैले जस्तै खोटाङको डम्बर्खुशिवालय गाविसका दिलबहादुर खत्रीले पनि मिठो मसिनो खाएर दसैँ मनाउनुभयो । अहिलेको दसैँ हाँसीखुसी मनाए पनि ५ वर्ष अघिका दसैँ मनाउँदाको अमिलो अझै पनि मेटिएको छैन मानबहादुरको मनबाट ।
घरको यही पीरले दिलकुमारका दाइ मानबहादुर विदेश जान कस्सिनुभयो । पासपोर्ट बनाएर काठमाडौं पुग्नुभयो । तर तीन वर्षसम्म विदेश चाहिँ पुग्नुभएन । विदेश पठाइदिन्छु भनेर पासपोर्ट लिएको एजेण्टले तीनवर्षसम्म कुराए । तर विदेश जान मानबहादुरले पहिले नै ऋण काडेर पैसा बुझाइसक्नुभएको थियो । तीन वर्षपछि एजेन्टले भिसा आयो भन्यो । ‘यो खबरले दाइ मात्रै होइन हाम्रो परिवारमै निभ्न आँटेको दियोमा तेल थपिए जसरी खुसी थपियो’ दिलकुमारले उबेलाको खुसी सुनाउनुभयो ।
एजेण्टले भनेको मान्दै मानबहादुर दुबई पुग्नुभयो । तर उहाँलाई लिन एयरपोर्टमा कोही आएन । कारणपछि मात्रै थाहा भयो, उहाँलाई नक्कली भिसामा पठाइएको रहेछ । ‘दाइसँग पहिल्यै लिएको पैसा असुल्न मात्रै पठाएको रहेछ’ दिलकुमारले भन्नुभयो ।
नक्कली भिसामा पुगेर फँसेका मानबहादुरले एयरपोर्टमै एकजना चिनेको नेपाली साथी भेट्नुभयो । उनैसँग एक हप्ता बिताएर उहाँ नेपाल फर्किनुभयो । नेपाल फर्किएपछि एजेन्टलाई समस्या सुनाउनुभयो । एजेन्टले पैसा फिर्ता गर्छु त भने तर अहिलेसम्म फिर्ता भएको छैन । अहिले त एजेन्ट नै हराएका छन ।
ऋण काढेर विदेश गएका मानबहादुरको घर ऋण बढ्दै गयो । छिमेकीले कुरा काटे दसैँमा दाजुभाइले समेत मासु दिएनन् । ‘अैंचो पैंचो गर्न समेत धौधौ भयो’ दिलबहादुरले भन्नुभयो ‘त्यति बेला आफन्तले खोला जस्तै तिमिहरुको जिन्दगी ओरालो लाग्यो । अब कहिल्यै उक्सिन सक्दैनाैं भनेको अहिले जस्तै लाग्छ ।’
विदेश गएर ठगिएर फर्किंदा ऋणमा डुबेको परिवारलाई उकास्न दिलकुमारका तीनै जना दाजुभाइ भारतको मेघालय जानुभयो । एक वर्ष भारत बस्दा केही पैसा कमाउनुभयो । तर घरमा भएका गाइ बाख्रा बेचेर थप्दा पनि साहूको ऋण चुक्ता भएन ।
त्यसपछि दिलकुमारले ऋण गरेर विदेश जाने विचार गर्नुभयो । तर कसैले पनि पत्याएनन् । जसोतसो गरेर दाजुलाई घरको जिम्मा लगाएर कान्छो भाइ र दिलकुमार कतार जानुभयो । तीन वर्षपछि दुवै जना घर फर्किनुभयो । तर उहाँहरु विदेशबाट फर्किएको केही दिनमै भएको आगलागीले परदेशको कमाइ अढाई लाखसँगै अन्नपात पनि खरानी भयो । ‘घर जल्दा पैसा र अन्नपात मात्रै सकिएन हाम्रो सबै सपना पनि खरानी भयो’ आगो लागेको कुरा गर्ने बित्तिकै दिलकुमारका आँखा टिलपिल भए । घर नरहेपछि गोठमा बसेको दिलकुमारको परिवारको बास धेरै दिनसम्म गोठमै भयो । अनि छरछिमेकले दिएको अन्न खाएर गुजारा चलायो ।
घरसँगै सपना पनि खरानी भएपछि दिलकुमार दोस्रो पटक साउदी अरब जानुभयो । दोस्रो पटकको विदेश यात्रामा पहिला जस्तो निराश हुनु परेन । दोस्रो पटक जाँदा पैसाभन्दा पनि महत्वपूर्ण कुरा सिक्नुभयो । त्यो हो स्वदेशमा होस या विदेशमा सीप नै सबैभन्दा ठूलो हुने रहेछ । त्यसैले दुई वर्ष बसेर फर्किएर पनि त्यही कुरा अपनाउनुभयो । उहाँ अहिले गाउँमा सिकर्मीको काम गरिरहनुभएको छ ।
‘सीप बिनाका हामी विदेशमा लेबर हुन्छौं अनि काम अप्ठ्यारो र दाम पनि कम हुन्छ । त्यति मात्रै होइन विदेशमा अरुको अधिनमा बसेर काम गर्नुपर्छ।’
दिलकुमार भन्नुहुन्छ ‘तर उहाँ न कसैको अधिन न आदेश, त्यसैले विदेशको भन्दा यही काममा सन्तुष्टि छ’ बालसेवा समाज नेपाल, खोटाङले सामी परियोजना अन्तर्गत आप्रवासी हकहित संरक्षण केन्द्र, डम्बर्खुशिवालय गाविसको उपाध्यक्ष पनि भएका दिलकुमार अबका दिन विदेश जानेहरुलाई सूचना दिएर बिताउने योजनामा हुनुहुन्छ । -सौधन राई/खोटाङ ।