५ बर्षपछि उही पुराना एक्शनस्टार विराज भट्टले अभिनय गरेको नयाँ चलचित्र ‘जय परशुराम’ साउन २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ५ बर्षसम्म भोजपुरी चलचित्रमा व्यस्त विराजलाई ५ बर्षपछि नै निर्माता रोज राणाले ‘जय परशुराम’ मार्फत नेपाली चलचित्रमा कमब्याक गराएका हुन् ।
उनले अभिनय गरेका चलचित्रहरु लगातार सफल र लगातार फिल्महरु हातमा परिरहेको अबस्थामा विराज एक्कासी भोजपुरी चलचित्रमा लाग्दा धेरैले उनलाई कमब्याक गराउने प्रयास पनि गरेका थिए तर उनलाई स्क्रिप्ट उत्कृष्ट नलाग्दा नेपाली चलचित्रमा काम गरेनन् । तर आफ्नो पुराना मित्र समेत रहेका रोज राणाले ‘जय परशुराम’को कथा सुनाएपछि भोजपुरी चलचित्र नै छोडेर विराजले यो चलचित्रमा काम गरे ।
निशा अधिकारीसँग दोस्रो पटक स्क्रिन शेयर गरेका विराजलाई रोज राणाले चलचित्र ‘जय परशुराम’मा एक्शन अवतारमा प्रस्तुत गराएका छन् । केही दिन अगाडी सार्वजनिक ट्रेलरबाट नै विराजको एक्शन चलचित्रमा कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ । ५ बर्षपछि नेपाली चलचित्र पर्दामा फर्किएका विराज अब लगातार नेपाली चलचित्र गर्दै जाने बताउँदै आएका छन् ।
हाल चलचित्र ‘जय परशुराम’को प्रमोशनमा दौडिरहेका विराजको ५ बर्षपछिको कमब्याक फिल्म ‘जय परशुराम’ फाप्ला वा नफाप्ला त्यो हेर्न भने साउन २८ नै कुर्नु पर्ने हुन्छ । तर निर्माणपक्ष भने विराजको नेपाली चलचित्र हेर्न दर्शकहरु अहिले पनि आतुर भएका कारण ‘जय परशुराम’लाई दर्शकहरुले रुचाउने दाबी गर्दै आइरहेको छ । पहिलो पटक निर्देशनमा हात हालेका रोज राणाले यो चलचित्र आफ्नै लगानीमा तयार पारेका हुन् ।