प्रजातन्त्रका लागि निरन्तरको सङ्घर्षका क्रममा जेलनेल भोगेका ७२ वर्षका मधुकान्त सिंह पाँच वर्षदेखि थला पर्नुभएको छ । कलेजो सम्बन्धी रोगले ग्रस्त भई सप्तरीको बभनगामाकट्टी–५ स्थित घरमा थला परेका सिंहको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
जीवन–मृत्युको दोसाँधमा पुग्दासमेत आफूलाई सरकार र पार्टीका नेता समेतले वास्ता नगरेको उहाँले बताउनुभयो । २०१७ सालमा नेपाली कांग्रेसबाट तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध लागेको आरोपमा आफूले कांग्रेसका नेता सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतसँग ८ वर्ष निर्वासित जीवन बिताएको उहाँले बताउनुभयो ।
‘तीन वर्षसम्म भट्टराई, देउवा र पौडेलसँग नख्खु जेलमा सँगै बसेको हुँ’ उहाँले भन्नुभयो ‘कांग्रेस सत्तामा छ, म थला परेको छु तर पनि कसैले एक वचन सोध्नेसम्म गरेका छैनन् ।’ राजविराज कारागारमा पनि दुईवर्ष बन्दी जीवन बिताएका सिंहले कांग्रेसको आह्वानमा भएका हरेक आन्दोलनमा सक्रियतापूर्वक नेतृत्व गरेपनि अहिले उहाँको उपचारका लागि वास्ता नगर्नु विडम्बना नै भएको छिमेकी गाविस मधेपुराका निवर्तमान अध्यक्ष सुरेशप्रसाद सिंहले बताउनुभयो ।
मधुकान्तको उपचारमा महिनाको ३२ हजार खर्च भइरहेको उहाँका जेठा छोरा ईन्द्रभुषणले बताउनुभयो । ‘भएको जग्गा जमिन उपचारमै सकिन लाग्यो’ उहाँले भन्नुभयो ‘अहिलेसम्म ३२ लाख खर्च भइसकेको छ, अब कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ता छ ।’
वैद्यनाथ यादव/उज्यालो ।