सहरी विकास मन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेसले गला मिलाएर लोकतन्त्र सिकाएकाहरू अहिले चर्का लोकतन्त्रवादी र राष्ट्रवादी भएर निस्किएको बताएका छन्।
नेपाली कांग्रेस नगर सभापतिहरूको प्रथम राष्ट्रिय सम्मेलनको समापन सभामा केसीले कथित राष्ट्रवादको नाराले नझुक्किन सबैलाई आग्रह गरे।
‘हिजो आफूलाई साम्यवादी भनेर एकतन्त्रीय शासन भन्दै हिँडेकाहरूलाई हामीले नै गला मिलाएर लोकतान्त्रिक मूलधारमा ल्याएका हौँ,’ केसीले भने, ‘आज तिनै शक्ति हामीलाई लोकतन्त्रको पाठ पढाउने र कथित राष्ट्रवादको नाराले जनता झुक्याउने प्रयास गर्दैछन्। तपाईं नझुक्किनु होला।’
केसीले कांग्रेसको लोकतन्त्र र राष्ट्रियतामाथिको प्रतिबद्धतामा प्रश्न उठाउने हैसियत कसैको नरहेको बताए।
उनले कांग्रेसले गला नमिलाएको भए अहिले समेत पुरानै अवस्थामा एक दलीय शासन भन्दै निरंकुशताका पक्षमा उभिनेहरूले हैसियत बिर्सिएर चर्का कुरा गरेको आरोप लगाए।
‘हामीले अत्यन्त ठूला कट्टर विपक्षीलाई अँगालो हालेर लोकतन्त्रको मूलधारमा ल्याएका हौँ,’ केसीले भने। -पहिलोपोस्ट