हाँस्य कलाकारिताको क्षेत्रमा छुट्टै छाप छोडेका कलाकार हरिवंश आचार्य आजबाट ५९ बर्षमा लागेका छन् । पिता होमन्जय र माता गणेश कुमारी आचार्यको कोखबाट कार्तिक २७ गते काठमाडौंको गौरीधारमा जन्मिएका हरिवंश आचार्य नेपाली हाँस्य विधामा सर्वाधिक रुचाइएको कलाकार हुन् । मदनकृष्ण श्रेष्ठसँग जोडी भर्इ हरिवंशले दर्जनौं टेलिफिल्म, स्टेज शो, रेडियो कार्यक्रम तथा नेपाली चलचित्रमा एकसाथ काम गरेका छन् ।
हरिवंश अभिनय तथा गायनमा धेरै कुशल छन्। उनका बाबुले ५३ वर्षको हुँदा १३ वर्षकी बालिकासँग विवाह गरेका थिए । बुवा ७३ वर्षको हुँदा उनी जन्मेका हुन्। बुवा पण्डित भएकाले उनलाई पनि संस्कृत पढाएर पण्डित बनाउन चाहन्थे। त्यस समय पण्डित नै विद्वान् हुन् भन्ने मान्यता थियो। उनी ६ वर्षको हुँदा बुवाको निधन भयो। बुवाकै इच्छाअनुसार उनलाई आमाले ठमेलस्थित वेद वेदाङ्ग विद्यालयमा भर्ना गराइदिइन् । ठमेल ४ वर्ष धाएपछि उनी दरबार हाइस्कुलमा पढ्न थाले। त्यहाँ पनि उनले संस्कृत नै पढे।
एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मेरो साथीहरू अङ्ग्रेजी स्कुल जान्थें। मलाई पनि अङ्ग्रेजी पढ्ने खुबै रहर थियो । उनले अगाडी भने -‘संस्कृत पढ्न टुपी पाल्नुपर्थ्यो। मलाई भने टुप्पी नराख्न र बंगाली कट कपाल काट्न मन लाग्थ्यो। सधैं टोपी लगाएर हिँड्नुपर्थ्यो। सबै कुरा मेरो इच्छाअनुसार थिएन। घरमा गोलभेडा, लसुन र प्याज खानु हुन्न भन्ने मान्यता थियो।’उनको विवाह बिक्रम संवत २०४० मा मीरा आचार्य सँग भएको थियो । उनको परिवारको कुरा गर्दा, उनका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन्। हरिवंशकी श्रीमती मीरा आचार्य २०११ अप्रिल २० मा ह्रृदयघातबाट मृत्यु भयो । उनी लामो समय देखि हृदय रोगबाट पिडित थिइन्। त्यसपछि रमिला पाठकसँग उनले केही बर्ष अगाडी दोश्रो बिहे गरेका हुन् । सामाजिक जनजागरणको क्षेत्रमा पनि हरिवंशको उल्लेख्य योगदान रहेको छ ।
लोभिपापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री उनका लोकप्रिय चलचित्रहरू मध्ये केही हुन्, जुन नेपाली चलचित्र उद्योगमा निकै नै लोकप्रिय थिए।