बलिउड अभिनेत्री श्रद्धा कपुर फिल्ममा सफल भएकाले मात्र होइन, व्यक्तिगत जीवनका कारण पनि बारम्बार चर्चामा आइरहेकी छिन् । कहिलेकाहीँ त उनको नाम बलिउडकै केही अभिनेतासँग जोडिएको हुन्छ । तर, श्रद्धाले यो विषयमा खासै बोलेकी थिइनन् । अब पक्कै पनि उनले यो विषय सहन सकिनन् । त्यसैले, यसबारे भनिन्, ‘म सिंगल छु र खुसी छु ।’ त्यसो त उनी आफूबारे आएका विभिन्न अफवाहबारे पनि सचेत नभएकी होइनन् । तर, ती अफवाहलाई सहन गर्ने शक्ति परिवारले दिएकाले आफूलाई कुनै फरक नपरेको श्रद्धाले बताएकी छिन् । ‘त्यस्ता हल्ला जीवनका अभिन्न अंग हुन्,’ उनले भनिन्, ‘मैले परिवारबाट यही कुरा सिक्दै आएको छु । तर, कहिलेकाहीँचाहिँ आफू संलग्न नभएको विषयमै पनि नाम जोडिँदा दुःख लाग्छ ।’ २९ वर्षीया श्रद्धाको नयाँ फिल्म ‘रक अन २’ अहिले प्रदर्शन भइरहेको छ ।