सपनाको देश अमेरिका, जहाँ जानका लागी मानिसहरु कयौ संधर्ष गर्ने गर्छन । साधारण मानिसहरु मात्र होइन् चलचित्रको पर्दामा देखिने स्टार कलाकारहरुको पनि सपनाको देश हो, ‘अमेरिका’ । केही बर्षयता हेर्ने हो भने धेरै चलचित्रकर्मीहरु अमेरिका पलायन भइरहेका छन् । नेपाली चलचित्रमा आफ्नो सुरक्षित भविष्य नदेखेपछि अमेरिका पलायन हुनेको भिड अझै कम भएको छैन । विभिन्न बहानामा अमेरिका पुगेका कलाकारहरु प्राय जसो उतै बस्ने गर्छन भने एकाध कलाकार मात्र फर्किएर आएको पाइन्छ । स्रोतका अनुसार पछिल्लो केही बर्षयता दैनिक जसो अमेरिकी दुताबासमा झण्डै १० जना भन्दा बढी नेपाली कलाकारहरु भिषाका लागि पुग्ने गर्छन । त्यो भिडमा नेपालका सुपरस्टार कलाकारहरु पनि बाँकी छैनन् । त्यो भिडबाट नायक आर्यन सिग्देल पनि टाढा रहने त कुरै भएन् । खबरका अनुसार आर्यनले ३ पटकभन्दा बढी अमेरिकी दुताबासमा भिषाका लागी आवेदन दिएका थिए तर उनको अहिलेसम्म भिषा लागेको छैन । कारण जे भए पनि उनलाई अमेरिकाको मोहले विस्तारै तान्दै गरेको देख्न सकिन्छ । हालै अमेरिकामा सम्पन्न भएको ‘ग्लोवल फिल्म अवार्ड’ मा सहभागी हुन लागी आर्यनले अमेरिकी दुताबासमा भिषा आवेदन दिएका थिए तर उनलाई अमेरिकाले पत्याएन् र उनी सिक्किममा आयोजना भएको ‘चौथो इनास अवार्ड’ तर्फ लागेका थिए । इनास अवार्डमा भने उनले गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् ।
नेपालका चर्चित कलाकार समेत अमेरिका गएर लुक्ने क्रम जारी रहेकोले पनि अन्य कलाकारलाई भिषा दिन पछिल्लो समय अमेरिका अन्कनाएको देख्न सकिन्छ । यस्तै केही दिन अगाडी नायक शिव श्रेष्ठलाई पनि अमेरिकाले भिषा दिन अस्वीकार गरेको खबर बाहिर आएको थियो तर सोही ग्लोवल फिल्म अवार्डका लागी केही दिन अगाडी मात्र उनी अमेरिका उडेका छन् ।