३ दिनको छायाँकन बाँकी रहिरहँदा चलचित्र ‘किङ’ को केही तस्बिरहरु सार्वजनिक भएका छन् । सिनेखबर डटकमलाई प्राप्त केही तस्बिरहरुमा नायक निखिल उप्रेती नायिका बेनिशा हमालसँग रोमान्स गरिरहेका देखिन्छन् भने चलचित्रमा खलनायकको भुमिका निर्वाह गरेका अनुप विक्रम शाहीको हातमा वेनिशाको फोटो देख्न सकिन्छ ।
चलचित्रको छायाँकनको बेला निर्माणपक्षले कुनै पनि तस्बिरहरु सार्वजनिक गरेको थिएन तर प्रदर्शन मिति नजिकदैं गरेपछि हालै चलचित्रको छायाँकनको बखत खिचिएका तस्बिरहरु सार्वजनिक गरिएको छ ।
असोज २१ गते छविराज ओझाले निर्माण गरेको चलचित्र किस्मत २ सँग प्रदर्शन हुन लागेको चलचित्र ‘किङ’ले अहिले आफ्नो प्रचारलाई पनि क्रमश अगाडी बढाउँदै गएको छ । सिनेखबर डटकमलाई प्राप्त केही तस्बिरहरुमा निखिल र अनुप विक्रम शाहीलाई फरक गेटअपमा देख्न सकिन्छ भने बेनिशा रोमान्टिक देखिएकी छिन् ।
सिनेखबर डटकमलाई तस्बिरहरु उपलब्ध गराउँदै निर्देशक सविर श्रेष्ठले भने -‘चलचित्रमा निखिल उप्रेतीलाई फरक गेटअपमा प्रस्तुत गराएका छौं । निखिल उप्रेती भएपछि चलचित्रमा एक्शन त पक्कै छ तर पृथक तरिकाको एक्शन चलचित्र ‘किङ’मा दर्शकहरुले देख्न पाउनेछन् ।’
जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्रमा जयन श्रेष्ठको लगानी छ । चलचित्रमा रोशन श्रेष्ठको एक्सन, दिनेश सुनाम र बसन्त सापकोटाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।