पाटनकी मधुमाया पोखरेल भान्छामा काम गर्दै थिइन्,अचानक पैतालामा काँडाले घोचेजस्तो भयो । सर्पले पो डस्यो कि भन्ने शंका लाग्दालाग्दै उनी चिच्याइन । “लौन मलाई त सर्पले टोक्यो कि क्याहो !” उनी चिच्याउँदै भान्छाबाट बाहिर निस्किन् । लगत्तै मधुमाया र पति गणेश पोखरेल पाटन अस्पताल पुगे । तर पाटन अस्पतालमा सर्पले डस्दा दिइने एन्टि स्नेक्स भेनम नपाइने कुरा अस्पतालको ईमरजेन्सी वार्ड पुगेपछि मात्रै उनीहरुले थाहा पाए । त्यसपछि उनीहरु त्यहाँबाट नर्भिक अस्पतालमा पुगे ।
त्यहाँ पनि सर्पले टोकेको उपचार नहुने कुरा थाहा पाएर निराश भए । त्यसपछि उनीहरु उपत्यकाभरि सर्पले टोकेको उपचार गराइने एकमात्र टेकु अस्पताल अर्थात् शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल पुगे ।
अस्पताल पुग्दा सामान्य सलले खुट्टा बाँधेर आएकी मधुमायाको खुट्टा भने थोरै सुन्निएको थियो ।
एक त पहाडमा सर्प नै हुँदैनन्, भइहाले पनि विषालु हँुदैनन भन्ने गरिन्छ । त्यसैले पहाड र उपत्यकाबाट सर्पले टोकेर आउने बिरामीहरुलाई टिटि भ्याक्सिनमात्र लगाइन्छ । एन्टिबायोटिकले नै उपचारमा काम गर्छ । उनीहरु पनि टेकुमा टिटि भ्याक्सिन मात्र लगाएर फर्के ।
मधुमायाले बत्ति नबालिकन खुट्टा धोइरहेकी थिइन्, त्यसैबेला राती १० बजेतिर उनलाई सर्पले टोकेको थियो । भोलिपल्ट ३÷४ पटक वाकवाकी र रिँगटा लाग्न थालेपछि उनीहरु फेरि टेकु पुगे । रगत जचाए, रगतको रिपोर्ट आयो । उनीहरुले थाहा पाए कि रगतमा धेरै परिवर्तन छ र क्रमश रगत पातलो हुँदैछ । त्यसैले उनीहरुलाई अब्जरभेसनमा राखिएलगत्तै एक हप्ताको लागि अस्पताल भर्ना गरियो ।
यतिबेला टेकु अस्पतालको वार्ड सेक्सनमा अधिकांश बिरामीहरु सर्पको टोकाइले नै भर्ना भएका भेटिन्छन् ।
देशैभरीबाट गत असार महिनामा सर्पले टोकेर टेकु अस्पताल आउनेको संख्या ८५ थियो । जसमध्ये उपत्यकाबाट मात्र २१ जना अस्पताल पुगेका थिए । गतवर्षको अनुपातमा २०७२ साल असार महिनामा सर्पले टोकेर टेकु अस्पताल पुग्नेको संख्या ६६ थियो भने यस वर्ष असारमा ८५ पुगेको छ । असार महिनामामात्र सर्पले टोकेर टेकु पुगेका नैकापका कृष्ण बहादुर राणा, गोदावरीका सुभद्रा कार्की, चापागाउँका दुर्गा घिमिरे, कीर्तिपुरका वुधला नगरकोटी, सातदोवाटोका भक्तकुमारी श्रेष्ठ, सीतापाइलाका भन्सु तामाङ, मच्छेगाउँका मुरी बयलकोटी , ललितपुरकी शर्मिला बिष्ट ज्वलन्त उदाहरण हुन् । साथै भक्तपुरकी माइली लामा, मधु खत्री, नारायण खत्री, सुमित्रा श्रेष्ठ, रामशरण बाँस्तोला, राजेन्द्र गिरी, सीता गिरी गतमहिना सर्पले टोकेर टेकु पुगेका थिए ।
त्यसैगरी बालाजुका पवित्र तिमल्सिना, गागलफेदीका जीश तामाङ, भैंसैपाटीकी माया बिष्ट, ठेचोका ज्ञानबहादुर महर्जन र बालाजुका रीतिका पौडेल गरी उपत्यकाबाट असार महिनामा सर्पको टोकाइबाट २१ जना टेकु अस्पतालमा उपचारत् थिए ।
साउन १३ गतेसम्मको तथ्यांक अनुसार सर्पले टोकेर टेकु अस्पतालमा उपचार गराउनेको संख्या ३१ पुगिसकेको छ । तीमध्ये ६ जना उपत्यकाबाटै छन् ।
खोकनाकी तुलसी महर्जन र लक्ष्मीकुमारी महर्जन दधिकोटका सीता न्यौपाने, सीपाडोलका कृष्ण भक्त खत्री, थानकोटका ईश्वरी अधिकारी र पाटन ढोकाका मधुमाया पौडेल सर्पले टोकेको कारण टेकु अस्पताल पुगेका थिए ।
किन बढे सर्प ?
जलवायु परिवर्तन र भूकम्पको कारण सर्पदंश बढेको हुनसक्ने इपिडिमियोलोजी र डिजिज कन्ट्रोल डिभिजनका निर्देशक बाबुराम मरासिनीले बताए । भूकम्पले जमीनको आन्तरिक संरचनामा भएको फेरबदल र वर्षायामको कारण सर्पको वासस्थान पुरिएको हुनसक्ने बताउँदै मरासिनीले पुरिएको ठाउँ खुल्ला हुने हुनाले पनि सर्पको टोकाइ बढेको हुनसक्ने आशंका गरे ।
उनले भने–“यस वर्ष सर्प रिसाएको छ !”
यता, स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले वर्षामा सर्पको टोकाइबाट मृत्यु हुने अवस्था आउन नदिन करिब दुई लाख भ्याक्सिन खरिद गर्ने तयारी गरेको थियो । सर्पको टोकाइबाट हुने मृत्युलाई रोक्न एन्टीस्नेक भ्याक्सिन खरिदका लागि सम्झौता भइसकेको महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीले जानकारी दिए । यो भ्याक्सिन एउटाको मूल्य ४९८ भारतीय रुपैयाँ पर्छ ।
गर्मी र बर्षात्का समयमा तराईमा सर्पको टोकाइबाट थुप्रै मानिसको ज्यान जाने गरेको छ । तराईको उष्ण मनसुनी हावापानी सर्पका लागि अतिउपयुक्त मानिन्छ । यसैकारण तराईमा प्रशस्त सर्प पाइन्छन् । तर यसपाली उपत्यकामा समेत सर्पको टोकाइले धेरैजना विरामी भएर अस्पतालहरुमा पुगेका थिए,जहाँ उपयुक्त उपचार पाउन नसकेको पीडितको गुनासो छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा मरासिनीले वर्षामा आउने बाढीमा सर्प पनि बगेर आउने हुँदा जोगिने स्थान खोजिरहेका सर्पले मानिसलाई डस्न सक्ने धेरै सम्भावना रहने बताए । मरासिनीले तराइको सन्दर्भमा यसो भनेका भए पनि उपत्यकाको हकमा यो वर्ष अनौठो घटना भएको छ । -सरल पत्रिका