साउन २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘जय परशुराम’ को नयाँ गीत सार्वजनिक भएको छ । ५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका विराज भट्ट अभिनित चलचित्र जय परशुरामको सार्वजनिक ‘सोझै हो’ बोलको गीतमा विराज र नायिका निशा अधिकारी देखिएका छन् । गीतमा दीपक लिम्बु र मिलन अमात्यको स्वर छ । महेश खड्काको संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ ।
यस अघि चलचित्रको ट्रेलर र एक गीत दर्शकहरुले निकै रुचाएपछि निर्माणपक्षले चलचित्रको दोस्रो गीत सार्वजनिक गरेको हो । विराजलाई सुपरस्टार भन्दै अहिले चलचित्रको निर्माण पक्ष पचारमा दौडिरहेको छ । ५ बर्षसम्म भोजपुरी चलचित्रमा व्यस्त रहेका विराजलाई ५ बर्षपछि नै चलचित्र निर्माणमा फर्किएका रोज राणाले कमब्याक गराएका हुन् ।
यो चलचित्रलाई रोज आफैले निर्देशन गरेका हुन् । चलचित्रमा विराज र निशाको अलवा खलनायकमा रविन तामाङको अभिनय रहेको छ । चलचित्रका एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, बसन्त श्रेष्ठ र रामजी लामिछानेको कोरियोग्राफी छ ।