‘कबड्डी’, ‘कबड्डी कबड्डी’ चलचित्र निर्देशन गरेर आफुलाई सफल निर्देशकको रुपमा स्थापित गराएका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘पुरानो डुङगा’ यही शुक्रबारबाट देशव्यापी प्रदशनमा आउँदैछ । प्रदर्शनमा आउनु अगाडी वुधबार राजधानीको जय नेपाल हलमा निर्माणपक्षले चलचित्रको भव्य प्रिमियर शोको आयोजना गरेको थियो । चलचित्र ‘पुरानो डुङगा’ को प्रिमियरमा चलचित्रका कलाकारहरु दयाहाङ राई, मेनुका प्रधान, लेखक उपेन्द्र सुब्बा, बुद्धि तामाङ लगायत उपस्थित भएका थिए ।
त्यस्तै प्रिमियरमा केकी अधिकारी, आर्यन सिग्देल, पुजा शर्मा, नम्रता श्रेष्ठ, बर्षा राउत, निर्देशक निश्चल बस्नेत लगायतको पनि उपस्थिती रहेको थियो । बेलायतबाट नेपाल आएर चलचित्रका मुख्य कलाकार दयाहाङ राई प्रिमियरमा उपस्थित भएका थिए । उनी, वुधबार बेलुकी चलचित्रका निर्देशक रामबाबु गुरुङसँग अष्ट्रेलिया शोका लागि प्रस्थान पनि गरे । प्रिमियरमा नायिका मेनुका प्रधान, कलाकार माओत्से गुरुङ उपस्थित थिए । तर, नायिका प्रियंका कार्की भने बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित हुन सकिनन् ।
‘पुरानो डुङगा’ को प्रिमियरमा नम्रता श्रेष्ठ भने प्रेमी दावा स्टीभन शेर्पासँग देखिएकी थिइन । प्रिमियरमा चलचित्र पुरानो डुङगाले पत्रकार र चलचित्रकर्मीहरुबाट मिश्रित प्रतिक्रिया पाएको छ । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, वुद्धि तामाङ, पुष्कर गुरुङ, धन बहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको मुख्य भूमिका रहेको छ । चलचित्रमा रौनक विक्रम कँडेल, ओम चन्द्र रौनियार, धन बहादुर गुरुङ निर्माता रहेको चलचित्रमा बाल्मिकी पोख्रेल र अर्जुन कार्की कार्यकारी निर्माता छन् । राम बाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा माओत्से गुरुङको कथा छ ।