कार्तिक २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ को चर्चाले अहिले नेपाली बजार निकै गर्माएको छ । प्रदर्शनमा आएको २ सातामा २ करोडमाथीको विजनेश गरिसकेको यो चलचित्रमा कलाकारहरुले बोलेका घतलाग्दा कमेडी संवादहरुले दर्शकहरुलाई एकपटक होइन बारम्बार जात्रा हेर्न घचघचाइरहन्छ । उत्कृष्ट कथामा अब्लल अभिनय प्रस्तुत गरेका चलचित्रका तीन पात्र रविन्द्र सिंह बानियाँ, विपिन कार्की र रविन्द्र झाको कमेडी संवादले चलचित्र हेर्न हलमा गएका दर्शकहरु बारम्बार पेट समातेर हाँस्नु पर्ने पार्छ । ति तीन कलाकार मध्ये आज हामी चलचित्र ‘जात्रा’ मा मुन्ना ठाकुर उर्फ नाइँको भुमिका निर्वाहा गरेका रविन्द्र झाको विषयमा केही कुराहरुलाई तपाईलाई जानकारी दिने प्रयास गर्नेछौ ।
धनुषाको जटहीमा जन्मिएका रविन्द्र २०३६ साल देखी नाटक क्षेत्रमा सक्रिय छन् । पहिलेदेखि नै काठमाडौं आउने जाने उनी स्थायी रुपमा काठमाडौंमा बस्न थालेको जम्मा एक वर्ष भएको छ । योभन्दा पहिले उनी कामको सिलसिलामा काठमाडौं आउने जाने गरिरहन्थे । तर एन्टेना फाउण्डेशनको नाटकमा काम गर्न थालेपछि उनी काठमाडौं नै बस्न थालेका छन् । उनी पहिलो पटक २०५२ सालमा अध्ययनको सिलसिलामा काठमाडौं आएका थिए । काठमाडौं आएका उनले नेपाल कमर्श क्याम्पसबाट ईन्टर गरेका छन् । उनलाई ईन्टर पढ्दा पढ्दै नाटकमा रुची जागेको थियो । यति सम्मकी उनलाई साथीहरुले दिल्लीमा नाटक सिकाउने स्कुल छ त्यहाँबाट नाटक सिक्यो भने राम्रो हुन्छ भन्ने बित्तिकै उनी दिल्ली दौडिए । दिल्ली गएर उनले आदिनाथ नाट्यविद्यालयमा तीनवर्ष नाटक सिकेर नेपाल फर्किए । राष्ट्रिय अनुसन्धानको जागिर त्यागेर नाटक सिकेका रविन्द्रले भारतीय चलचित्र पिंजरमा पनि छनौट भएका थिए तर पछि उनले काम गर्न पाएनन् ।
अहिले मुन्ना ठाकुरका नामले प्रख्यात कलाकार एवम् नाटक निर्देशक रविन्द्र झाले राष्ट्रिय अनुसन्धानको जागिर छोडेर नाटक सिक्न भन्दै बुबाले दिएको तीन हजार बोकेर दिल्ली हान्निएका थिए । दिल्ली पुगेपछि उनले त्यहाँ नेसनल स्कुल अफ ड्रामाछेवैको आदिनाथ नाट्यविद्यालयमा भर्ना खुलेको थाहा पाए । त्यस कलेजमा त्यस बखत नाटक सिक्नका लागि झण्डै डेढ लाखले आवेदन दिएका थिए । छनौटको लागि भने जीवनमा पहिलो पटक गरेको अभिनय सफल होला की नहोला भन्ने चिन्ता र डर उनीमा थियो । तर उनको पहिलो प्रयास नै सफल भयो । उत्कृष्ट २० मा आफ्नो नाम देखेपछि उनले एक छिन त पत्याएनन् । उनलाई अर्को रविन्द्र झा पनि हुन सक्छ भन्ने लाग्यो । तर उनका साथीहरुले हैन तँ नै हो अरु कोही छैन भनेपछि बल्ल विश्वास भयो । त्यस बखत खुसीले उनको आँशु थामिएन । उनी रोए । यो ५४ सालको कुरा हो । त्यसपछि त उनले नाटकलाई नै सारथी बनाए ।
भारतमा तीन बर्षसम्म नाटकको अभिनय कोर्ष सिकेपछि उनी नेपाल फर्किएर रंगमञ्चतर्फ सक्रिय भए । चलचित्र खेल्न खासै नचाहने रविन्द्रले यसअघि नेपाली चलचित्र ‘चंखे शंखे पंखे’ र ‘१२ नेपाली एक चिहान’ मा पनि अभिनय गरिसकेका छन् । तर उनलाई यि चलचित्रमा दर्शकहरुले खासै नोटिश गरेनन् ।हाल उनी, काठमाडौंमा रहेको एन्टेना फाउन्डेशनमा आवद्ध छन् । यता चलचित्र ‘जात्रा’ मा भने उनी खेल्न चाहेका थिएनन् । मह जोडीका सिरियलमा काम गर्दा भेट भएका निर्देशक प्रदीप भट्टराईले पटक–पटक अनुरोध गर्दा पनि जागिरका कारण नभ्याउने भन्दै उनी पन्छिएका थिए। त्यसपछि प्रदीपले हरिवंश आचार्यसँग गुनासो पोखे। अनि रवीन्द्र काम गर्ने अफिसका प्रमुखसँग हरिवंशले नै छुट्टी मिलाइदिन भनेछन् र उनले चलचित्र जात्रा खेले। अहिले उनले जात्रामा निभाएको मुन्ना ठाकुरको भुमिकालाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । अहिले उनले चलचित्र ‘जात्रा’ मा बोलेका ‘हामी जस्तो करोडपति मान्छेलाई गरिब बन्न गाह्रो हुँदैन’,’गाँछी रोपिसकेको छु । ५ रुपैयाँको कलिलो कलिलो पात फलिसकेको छ । छिप्पिएर हजारको भएपछि नी पठाउँछु ।’, ‘पुलिसभन्दा कुकुर विद्यवान’, ‘मलाई त एक लाखको गड्डी एकपटक हेराइदिनुस् म त बेहोसै भईहाल्छु’ लगायतका संवादहरु निकै चर्चित छन् ।
यो अर्को कुरा सुन्दा तपाई सायद छक्क पर्नुहुन्छ होला कि चलचित्र जात्रामा रविन्द्र उर्फ मुन्ना ठाकुर नाइँको श्रीमतीको भुमिका निर्वाहा गर्ने अरु कोही होइनन् उनकै वास्तविक श्रीमती हुन । रविन्द्रकी श्रीमतीको नाम हो प्रियंका झा, उनी पनि नाटककी सक्रिय कलाकार हुन् । उनकी श्रीमती प्रियंका झा र उनको भेट नाटकमा काम गर्दागर्दै भएको थियो । एकसाथ काम गर्दागर्दै एक अर्कासँग चिनजान भयो र विवाहको कुरा उठ्यो । अहिले प्रियंका श्रीमान रविन्द्रसँगै एन्टेना फाउण्डेशनले निर्माण गर्ने नाटकमा काम गर्छिन ।