कुनै समय थियो नायक राजेश हमालको टाउको पोष्टरमा देखाएपनि नेपाली चलचित्र सुपरडुपर हिट हुन्थे । जतिबेला नेपाली चलचित्रमा राजेश हमालको एकछत्र राज चलेको थियो त्यसबेला उनको एक झल्को हेर्नका लागी पनि दर्शकहरुको सिनेमा घरहरुमा ठूलै भिड लाग्ने गर्थ्यो । तर अहिले समय बदलिसकेको छ । समयका साथ-साथै बदलिएको दर्शकको सोचले पनि अहिले धेरै जसो पुरानो कलाकारहरुको क्रेज घट्दै गएको छ । अहिले दर्शकहरु नेपाली चलचित्रमा नयाँ अनुहार नै बढी खोज्ने गर्छन र त्यसको उदारहणहरु क्रमश नेपाली चलचित्रमा भित्रिएका नयाँ नायक नायिकाहरु नै हुन । अहिले नायक अनमोल केसी देखी नायिकामा साम्राज्ञी राज्य लक्ष्मी शाहसम्म दर्शकका आशलाग्दा कलाकारहरु हुन् । जसको एक झल्को हेर्नका लागी पछिल्लो समय नेपाली सिनेमा घरहरुमा एकसमय राजेशका चलचित्र हेर्न लागेको भिडलाई पनि विर्साउँछ ।
नयाँ कलाकारहरुको आगमनसँग-सँगै अहिले नायक राजेश हमालको क्रेज पनि नेपाली दर्शकहरुमा खासै लोभलाग्दो छैन । अझ उनको चलचित्र हेर्नका लागी त दर्शकहरु खल्तीको पैसासम्म रित्याउन तयार हुँदैनन् । ‘बागमती’, ‘शकुन्तला’, ‘मुखौटा’ लगायतका चलचित्रहरु त्यसका ज्वलन्त उदारहणहरु हुन् । लगातार केही बर्षदेखी आफु अभिनित चलचित्रहरु असफल हुँदै गएपछि अहिले राजेश हमाललाई आफ्नो चलचित्रमा लिनका लागी निर्माताहरु पनि नाक खुम्चाउने गर्छन । अझ चलचित्र खेलिसकेपछि पव्लिसिटीमा ध्यान नदिने बानीले गर्दा पनि निर्माताहरु राजेश हमाललाई आफ्नो चलचित्रमा लिनका लागी जोड गर्दैनन् । लगातार आफु अभिनित चलचित्र असफल हुँदै गएपछि केही बर्षयता राजेश हमालको व्यस्तता स्टेज कार्यक्रमदेखी विदेशमा हुने साँस्कृतिक कार्यक्रमहरुमा बढी देखिन्छ ।
लोकदोहोरी म्यूजिक भिडियो समेत खेल्न पछि नपर्ने नायक हमालको यही आउने शुक्रबार चलचित्र ‘विजुली मेसिन’ प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा राजेश हमाल विशेष भुमिकामा छन् । राजेश हमालको विषेश भुमिकामा भएका कारण अहिले निर्माणपक्ष चलचित्रको प्रचारमा उनको नाम विकाउन दिलोज्यान दिएर लागिरहेको छ । जबकी अब राजेश हमालको नाम विकाएर उनका चलचित्रहरु चल्न नै छोडिसकेका छन् । ‘के राजेश हमालको नाम भजाएर विजुली मेसिन निर्माण गरेको टीमले दर्शक हलसम्म हुल्न सफल होला ?’ त्यो भने मंसीर १७ गतेबाट नै थाहा हुन्छ ।
चलचित्र ‘विजुली मेशिन’ ले आवाजबाट पनि विजुली निकाल्न सकिन्छ भन्ने कथा पेश गरेको छ । यो कथा अहिलेको समयमा कति सान्दर्भिक छ भन्ने पनि मुख्य कुरा हो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजलुी निकाल्छु भनेर दिएको अभिव्यक्तिलाई त जनताहरुले हावादारी गफ भनेर टारिदिए भने अब चलचित्र ‘विजुली मेशिन’ ले आवाजबाट विजुली निकाल्ने कुरालाई पर्दामा देखाउन खोजेको छ । आवाजबाट विजुली निकाल्न सकिन्छ भन्ने कुरालाई पनि जनताहरुले हावादारी मान्ने त होइनन् ? यदी यसो भयो भने निर्माताको लगानी बालुवामा पानी खन्याएको जस्तो हुनेछ ।