यहाँ सबैलाई आ-आफ्नै चिन्ता छ । कोहि एकपछि अर्को गर्दै सफलताको ह्याट्रिक मारिरहेका छन् भने कसैको करियर विस्तारै डामाडोल पनि हुँदै गएको छ । सफलताको ह्याट्रिक मार्नेलाई पनि यहाँ कम्ता चिन्ता छैन अझ करियर डामाडोल हुँदै गरेको आफ्नै आँखाले देख्नेलाई त झन भोक निन्द्रै हराएको छ । हामी कुरा गर्दैछौ नेपाली चलचित्रका कलाकारहरुको । यहाँ आफ्नो करियर बनाउन कोहीले कसैको सहारा लिनु अनौठो होइन किनकी सिनेक्षेत्रमा यसलाई साधारण रुपमा हेरिन्छ । तर कसैले दिएको सहाराले जीवनभर फलिफाप नै फलिफाप हुन्छ भने कसैको सहाराले करियर नै धराप बनाइदिन्छ । अहिले यस्तै मुश्किल बाटोमा हिँडिरहेका छन् नायक किशोर खतिवडा । अहिले उनको करियर कि रेखा थापाको हातमा छ कि निर्माता छविराज ओझाको हातमा । किनकी उनलाई यि दुई व्यक्ति बाहेकको साथले करियरलाई ठूलो मद्दत मिलेको छैन ।
रेखा र छविराजको ब्यानरमा बनेका चलचित्रबाट भने किशोरले राम्रै सफलताको स्वाद चाखिसकेका छन् तर अन्य ब्यानरबाट मात्र ‘झट्का’ । रेखासँग उनले चलचित्र ‘रावण’, ‘लंका’, ‘तथास्तु’, ‘काली’ मा काम गरिसकेका छन् भने छविराज ओझाको ब्यानरमा बनेका ‘हवल्दार सुन्तली’, ‘किस्मत २’ चलचित्रमा उनले दमदार अभिनय प्रस्तुत गरिसकेका छन् । रेखा र छविराज ओझाका चलचित्रबाटै किशोरले एक्शन नायकको छवि बनाएका हुन् ।
तर, केही बर्षयता पैसाको लोभमा कमजोर कथावस्तु र गतिला ब्यानर छान्न नसक्दा उनलाई आफ्नो साख जोगाउन पनि अहिले हम्मेहम्मे परिरहेको छ । उनले अभिनय गरेको तथा छविराज ओझाले निर्माण गरेको चलचित्र ‘किस्मत २’ गएको महिना मात्र प्रदर्शनमा आएको थियो । ‘किस्मत २’ नेपाली बक्सअफिसमा सफल पनि भयो । अन्य ब्यानरबाट निर्माण भएका चलचित्रमा ‘खाली हात’ भन्दा बाहेक अरु केही पाउन नसकेका किशोरलाई अब डर पनि छ कि ‘कतै रेखा र छविराज ओझासँगको साथ छुट्यो भने करियर डामाडोल त हुने होइन ?’ तर किशोर पछिल्लो समय भने रेखाका चलचित्रहरुमा देखिन छोडिसकेका छन् । रेखासँग एकसाथ चलचित्र ‘तथास्तु’ मा काम गरेपछि किशोर उनको अन्य चलचित्रमा इन्ट्री हुन सकेका छैनन् ।
रेखा र छवि ओझाका चलचित्रमा किशोर जोडिनुको कारण यो पनि हो कि जति बेला किशोरले आफ्नो फिल्मी करियर सुरु गरेका थिए त्यति बेला छवि र रेखा एकै घरमा श्रीमान-श्रीमती भएर बसेका थिए । त्यही बेला किशोरले रेखासँग ‘काली’, ‘रावण’ लगायतका चलचित्रमा काम गर्ने मौका पाए । तर अहिले रेखा र छवि अलगिसकेका छन् तर पनि फाट्ट-फुट्ट रुपमा रेखा थापा र छविराज ओझाका चलचित्रहरुमा भने किशोर देखिरहेका हुन्छन् ।
अब त दर्शकहरुले पनि यो सोच्न थालिसकेका छन् कि रेखा र छविको साथ भएन भने किशोरको फिल्म करियर सुखद हुने छाँटकाट छैन ।
छवि र रेखाका चलचित्र भन्दा बाहिरका ब्यानरमा निर्माण भएका शकुन्तला, उर्वशी, ड्राइभर दाइ, बृन्दाबन लगायतका आधा दर्जन बढी चलचित्रमा किशोरले काम गरिसकेका छन् । तर यि कुनै पनि चलचित्रले किशोरको करियरमा ईट्टा थप्ने काम गरेनन् बरु करियरलाई कायापलट गर्न तर्फ भने इसारा गर्यो । अब उनका ‘परशुराम’ र ‘पार्सल’ नामक चलचित्र प्रदर्शनमा आउन बाँकी छन् ।