म्यूजिक भिडियोमा सर्वाधिक देखिने मोडल तथा नायिका हुन्, अनु शाह । म्यूजिक भिडियोबाटै उनले नेपाली चलचित्रमा आफ्नो पाइला अगाडी बढाएकी हुन् । ‘द युगदेखि युगसम्म’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी नायिका अनुले पहिलो चलचित्रमै नायक राजेश हमालसँग स्क्रिन शेयर गर्ने मौका पाइन । तर, पहिलो चलचित्र ‘द युगदेखि युगसम्म’ नै नेपाली बक्सअफिसमा असफल रह्यो तर उनले यही चलचित्रबाट नायिकाको परिचय भने पाइन । ‘द युगदेखि युगसम्म’ चलचित्रपछि उनले झण्डै आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् तर सबै चलचित्रहरु नेपाली बक्सअफिसमा असफल रहे । तर गएको बर्ष भने उनलाई नायक निखिल उप्रेती स्टारर चलचित्र ‘भैरव’ ले केही उचाईमा पुरायो । तर जति निखिलले ‘भैरव’ बाट सफलता चुमे त्यसमा भने उनी चुकिन ।
निर्माणपक्षले अनुलाई पव्लिसिटीमा वास्ता नगर्दा ‘भैरव’ मा उनी नायिकाको रुपमा मात्रै सिमिति भईन । ‘भैरव’ ले नेपाली बक्सअफिसमा सफलता हासिल गरेपनि अनुले त्यसको स्वाद मज्जै भने चाख्न पाइनन् । दर्शकहरुले ‘भैरव’ मा निखिलको एक्शन अवतारलाई रुचाइदिँदा अनुको अभिनय भने ओझेलमा परेको थियो । त्यसैले त चलचित्र ‘भैरव’ सफल भएपनि उनको करियरमा चमक भने लाग्न सकेको छैन ।
अहिले के मा व्यस्त छिन अनु ? त्यो भने उनैलाई थाहा होला तर केही महिनादेखी उनको हातमा चलचित्र भन्दा म्यूजिक भिडियो नै बढी परेको देखिन्छ । ‘भैरव’ पछि उनको ‘लक्ष्य’ नामक चलचित्र पनि प्रदर्शनमा आएको थियो तर त्यसले बक्सअफिसमा कमाल देखाउन सकेन । लगातार आफु अभिनित चलचित्रहरु असफल हुँदै गएपछि पछिल्लो समय उनी सार्वजनिक कार्यक्रमहरुमा पनि खासै देखिन्नन् ।