केही बर्षयता हेर्ने हो भने लगभग २५ प्रतिशत भन्दा बढी नेपाली कलाकारहरु अमेरिका पलायन भइसकेका छन् । नेपाली चलचित्र क्षेत्रमा आफ्नो भविष्य सुरक्षित नदेखेपछि क्रमश नेपाली कलाकारहरु अमेरिकातर्फ पलायन भइरहेको देख्न सकिन्छ । त्यो भिडमा नायिका जल शाह देखी नायक सरोज खनालसम्म पनि छुटेनन् । नेपाली चलचित्रमा काम गरेर आफ्नो जीविको पार्जन गर्न मुश्किल हुन थालेपछि नेपाली चलचित्रकर्मीहरुको रोजाई विस्तारै अमेरिका पर्न थालेको हो । सपनाको देश अमेरिका जानका लागी अहिले पनि नेपालका सुपरस्टार कलाकारहरु मरिहत्ते गर्छन । केही दिन अगाडी मात्र हामीले नायक आर्यन सिग्देललाई अमेरिकाले भिषा नदिएको खबर प्रकाशन पनि गरेका थियौ । आर्यन त एक पात्र मात्र हुन् यहाँ दर्जन बढी नेपाली कलाकारहरु दैनिक जसो अमेरिकी दुतावासमा भिषाका लागी पुग्ने गर्छन ।
तर, नेपालमै यस्ता कलाकारहरु पनि छन् जसलाई अमेरिकाको मोहले कहिले तानेन । नायक राजेश हमाल, नायिका प्रियंका कार्की, रेखा थापा, नायक भुवन केसी लगायत यस्ता केही कलाकारहरु पनि छन्, जो अमेरिका पुगेर पनि नेपाल फर्किए नत्र अमेरिका पुगेका धेरै जसो कलाकारहरु त उतै हराउने गर्छन । त्यस मध्येका एक हुन नायक भुवन केसी । नायक भुवन केसीका लागी अमेरिका पानी पधेरो भइसकेको छ । उनी केही महिना खाली भइहाले भने अमेरिका कुदिहाल्छन् । उनी अमेरिका गइरहनुको कारण यो पनि हो कि उनकी जेठी श्रीमती र दुई छोरा छोरी अमेरिकामा नै बस्छन् । केही हप्ता अगाडी मात्र अमेरिका पुगेर फर्किएका नायक भुवन केसीले आफुलाई अमेरिका राम्रो लागेपनि सधै उतै बस्न मन भने कहिले नलागेको बताए ।
‘सिनेखबर डटकम’ सँगको एक अन्तर्वार्ताको क्रममा उनले भने -‘मलाई अमेरिका जान मन लाग्छ, घुम्न मन लाग्छ तर उतै बस्न भने चाहिँ पटक्कै मन लाग्दैन । १० दिन अमेरिका बसे भने ११ औं दिनमा कहिले नेपाल जाउँ जस्तो हुन्छ । मेरो देश नेपाल नै स्वर्ग छ किन म अर्काको देशमा बस्ने । ‘
‘मैले अमेरिकी दुतावासमा लिखित रुपमै कहिले पनि मलाई अमेरिकाको ग्रिनकार्ड चाहिँदैन भनेर निवेदन दिएको छु । किनकी म कहिले पनि अमेरिका गएर बस्न रुचाउँदिन । मैले झुट बोलकेो होइन मलाई मेरो ७ जन्म पनि नेपालमै होस् भन्ने चाहन्छु ।’ उनले भने । उनले केही दिन अगाडी काठमाडौंमा आयोजना भएको कामना अवार्डमा चलचित्र ड्रीम्स नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई भुवनले आफुलाई ‘अंकल’ नभनेर ‘जी’ वा ‘सर’ भन्न आग्रह गरेको खबरले नेपाली मिडिया खुबै तातेको थियो । यही विषयमा सिनेखबर डटकमले सोध्यो कि ‘तपाईलाई साम्राज्ञीले अंकल भन्दा मन दुखाउनु भयो रे नी ?’ अनि भुवनले तत्काल उत्तर दिए, ”अंकल’ भन्दा मन दुखेको होइन तर त्यसमा आदर र सम्मान हुँदैन । सानोले ठूलोलाई बोलाउँदा ‘अंकल-अन्टी’ बन्नु राम्रो होइन । तपाईले कहिले सुन्न भएको छ बलीडमा अमिताभ बच्चनलाई अमिताभ ‘अंकल’, धमेन्द्रलाई धमेन्द्र ‘अंकल’, हेमा मालिनीलाई हेमा ‘अन्टी’ भनेको । कसैलाई ‘अंकल’ होइन ‘जी’ वा ‘सर’ भनेर बोल्न सिक्नु पर्छ नेपालका कलाकारहरुले पनि ।’
उनले आफ्नो ब्यानरमा निर्माण हुने चलचित्रमा साम्राज्ञीका लागी सधै ढोका खुल्ला भएको पनि बताए । भुवन केसीले गएको शनिबार कामना अवार्डमा चलचित्र ड्रीम्सबाट नव निर्देशकको अवार्ड हात पारेका थिए ।