२०६० साल चैत्र २६ मा माओवादीले विदुर नगरपालिकामा रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा बम विष्फोट गराए । जसका कारण १० फिट अग्लो सालीक क्षतिग्रस्त भयो । त्यसको तीन दिनपछि चैत्र ३० मा माओवादीले लगनस्थित भीमसेन थापाको ऐतिहासिक भवनमा बम विष्फोट गराएर क्षती पु¥याए । पृथ्वीनारायण शाह र भिमसेन थापा हाम्रा यस्ता पूर्खा हुन्, जसको नेतृत्वमा बिसौं हजार देशभक्त नेपालीले बलीदान दिएर अहिलेको सग्लो नेपाल बनेको हो ।
पृथ्वीनारायण शाहलाई बडामहाराजा यसकारण भनिएको हो कि उनले स–साना भुरे टाकुरे राजालाई शस्त्र बलद्वारा पराजित गरी तिनले राज्य गरिरहेका भुभागलाई एउटै राज्यमा गाभ्दै लगे । इतिहासको त्यो चरण खासमा अहिलेको नेपाल निर्माणको स्वर्णीम चरण थियो । त्यसको नायकका रुपमा पृथ्वीनारायण शाहलाई यो राष्ट्रले उच्च सम्मान र आदर दिनुपर्छ । नेपालको भौगोलिक एकताका ती महानायकको इतिहासलाई ओझेलमा पारेर हामी कसैले पनि आफूलाई नेपाली भन्नु बेकार छ ।
इतिहासको तथ्य के हो भने विशाल मुलुकहरु पृथ्वीनारायण शाहजस्तै शासकहरुको साहस र अठोटबाट बनेका छन् । उदाहरणका लागि शीह ह्वाङ इसा पूर्व २४६ मा चीनको ठुलै क्षेत्रको एकिकरण गरेर त्यहाँको प्रथम सम्राट बने । त्यो कदमले बाह्य आक्रमणबाट चीनलाई बचाउँदै गयो । विशाल चीन निर्माणमा शीह ह्वाङको योगदानको कदर गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले उनलाई ‘चीनका महान सम्राट’ भनेर संवोधन गरे र आफ्नो देशको इतिहासको उच्च सम्मान गरे । कहाँसम्म भने शीह ह्वाङ ‘चीन वंश’का थिए र उनकै वंशको नामबाट ‘चीन’ देशकै नामाकरण भयो । कुनै सामन्त राजाको वंशको नामबाट राखिएको देशको नाम नै फेर्नुपर्छ भनेर चिनियाँहरुले भनेनन्, बरु चीनको एकिकरणका ती नायकको उच्च सम्मान गरे ।
इटालीमा गैरीवाल्डीले सन् १८६१ मा युद्धबाटै इटालीको एकिकरण गरेका थिए । विस्मार्कले जर्मनीको एकिकरण गरे । त्यहाँ यी दुई शाषकको व्यापक सम्मान हुन्छ ।
अर्को छिमेकी भारतकै कुरा गरौं । त्यहाँका चक्रवर्ती सम्राट भरतकै नामबाट भारत देशको नाम रहन गयो । हरेक भारतीयहरु ‘मेरा भारत महान’ भनेर गर्व गर्छन् । इशापुर्व ३२३ मा भारतमा यस्ता राजाको उदय भयो, जसले विभिन्न राज्यमा विभक्त भारतलाई एकिकरण गरे । उनी थिए, चन्द्रगुप्त मौर्य । आचार्य विष्णुगुप्तको सल्लाह बमोजिम चन्द्रगुप्तले आफ्नो रणकौशलबाट अभूतपूर्व दिग्वीजय अभियान चालेका थिए र विशाल भारतको निर्माण गरेका थिए ।
चन्द्रग्ुप्त मौर्यका किस्साहरु भारतमा गर्वका साथ सुन्ने र सुनाउने गरिन्छ । त्यहाँका टेलिभिजन च्यानलहरुमा चन्द्रगुप्त मौर्य र तिनका सन्ततीहरु विन्दुसार र सम्राट अशोकसम्मका सिरियलहरु प्रशारण हुने गर्छन् । त्यति मात्र हैन, मुगल सम्राट अकबर, शाहजाँह, बहादुर शाह जफर र टिपु सुल्तानदेखि झाँसीकी रानी लक्ष्मी बाईसम्मका योगदानहरुको सगर्व चर्चा गरिन्छ । ती सबै राजतन्त्रकालीन पात्र भएकाले गणतन्त्र भारतमा तिनका प्रतिमा भत्काउनुपर्छ या तिनको इतिहास मेटाउनुपर्छ भनेर कसैले पनि भनेको सुनिदैन । किनकी हरेक भारतीयलाई थाहा छ, चन्द्रगुप्त मौर्यदेखि सम्राट अशोकसम्मको इतिहास मेटाउनु भनेको भारतकै अस्तित्व मेटाउनु हो । अतः उनीहरु आफ्नो इतिहासको उच्च सम्मान गर्छन् ।
चन्द्रगुप्त मौर्यजस्तै भूमिका हाम्रा बडामहाराजा पृथ्वीनारायण शाहले नेपालमा निर्वाह गरेका थिए । उनले विभाजीत देशलाई एक बनाएका थिए । तर, बिडम्बना नेपालमा उनको राजकिय सम्मानको साटो उल्टै उनको शालीक भत्काउने धृष्टता गरियो । अनि त्यसरी राष्ट्र निर्माताको सालीक भत्काउनेहरुले राष्ट्रियताको दुहाई दिएको पनि देखियो । चाहे पृथ्वीनारायण शाह हुन् चाहे जंगबहादुर राणा नै किन नहुन्, ती हरेकले नेपाल निर्माणमा आ–आफ्नो हिसाबले योगदान दिएका छन् । अब हामीले ती हरेक योगदानको सम्यक स्मरण गर्नु जरुरी छ । इतिहासका ती अदभूत पात्रहरुको या इतिहासकै पुनव्र्याख्या गरेर उत्पन्न भ्रम चिर्नु जरुरी छ ।
जंगबहादुरकै कुरा गरौं । हामीले कुन कोणबाट उनलाई खलनायक भन्ने ? उनले कोत पर्व मच्चाए भनेर ? उनले भण्डारखाल पर्व मच्चाए भनेर ? त्यो आधारमा जंगबहादुरको मुल्यांकन गर्नु उचित हुँदैन । किनकी, त्यो युग नै त्यस्तै थियो । न त त्यतिबेला मानवअधिकारको बडापत्र बनेको थियो, न त शान्तिपूर्ण माध्यमबाट सत्तामा जान सकिने लोकतान्त्रिक विधि विधान निर्माण भएको थियो । सारा संसारभरी एकले अर्कालाई सिध्याएरै सत्ता कब्जा गर्ने युग थियो । विश्वमा कम्युटर र सूचना प्रविधिको विकास भइसकेपछिको चेतनशील युगमा त माओवादी हिंशात्मक विद्रोहका नाममा सत्र हजार नेपालीको ज्यान गयो भने डेढ सय वर्षअघि जंगबहादुरले कोतपर्व मच्चाउनु खासमा त्यो युगकै परिणती थियो । अतः जगबहादुरको शासकिय शैलीका बारेमा उनको मुल्यांकन गर्नु न्यायसंगत हुँदैन ।
बरु त्यस्तो अन्धकार युगमा पनि उनले धेरै दुरगामी कदम चालेको देखिन्छ । आफ्ना छोराहरुलाई अंग्रेजी पढाउन केही अंग्रेजी शिक्षक उनले दरबारमा झिकाएका थिए । त्यो नै कालान्तरमा दरबार हाइस्कुलमा परिणत भयो र शिक्षाको औपचारीक सुरुवात भयो । जंगबहादुर तिनै हुन्, जसले सुगौली सन्धीमा गुमेका बाँके, बर्दिया, कैलाली र कंचनपुरलाई कालान्तरमा नेपालमै फिर्ता गाभ्न सफल भए । त्यो पनि अंग्रेजहरुलाई खुशी पारेर । जंगबहादुर बेलायत भ्रमणबाट फर्केपछि त्यहाँका आधुनिक कला कौशललाई स्वदेश भित्र्याए । त्यसबारेमा चर्चित कलाकार मनुजबाबु मिश्र भन्छन्, ‘एउटा मूर्ख, अनपढ र ज्याद्रो सीपाही मानिएका जंगबहादुर एकपटक युरोप भ्रमणबाट फर्कँदा त्यहाँको कला बोकेर आए । त्यो ठुलो कुरा हो । सिंहदरबारमा मिश्र त्यही छ, ग्रिस त्यही छ, रोम त्यही छ, इस्लाम त्यही छ । एउटा सिंहदरबार आफंैमा भर्सटायल प्यालेसको मुर्त रुप हो । जंगबहादुरलाई अरुले चेतनाहीन भने भनून्, तर मेरा लागि, एउटा कलाकारका लागि उनीहरु अती चेतनशील, प्रतिभाशाली देश विकासमा समर्पित शासक हुन् । एकचोटी युरोप घुमेर आउँदा ग्रीस र रोम, वैजाइन्टाइन र फलोरेन्स, फ्रान्स र जर्मनीका कलाका नमुनाले काठमाडौं सिंगार्ने ती कलाका महान अनुरागी राणाजीलाई म कला चेतनाले भरीपूर्ण उच्च मानव ठान्छु ।’
श्री ३ चन्द्रशमसेरलाई त हामीले विश्वकै ‘प्रथम मानवअधिकारबादी’ भनेर लवीङ गर्नुपर्छ । किनकी उनले नै नेपालमा सति प्रथाको अन्त्य गराएका थिए । पतिको निधन हुनासाथ पत्नीले पनि सँगै जल्नु खासमा मानवअधिकारको घोर उल्लंघन थियो । चन्द्रशमसेरले त्यो प्रथाको अन्त्य गरेर महिलाको मानवअधिकारको रक्षा गरेका थिए । सति प्रथा अन्त्यको घोषणा पछाडिका अन्तरकथाहरु जेसुकै होउन्, त्यो घोषणापछि आफ्ना पतिहरु मरेपछि पनि महिलाहरुले बाँच्न पाए । महिलाको बाँच्न पाउने अधिकारको रक्षा गर्ने चन्द्र शमसेरलाई नेपालले मानवअधिकारवादी अभियन्ताका रुपमा स्थापित गर्नसक्छ । पश्चिमा मुलुकहरुलाई ‘तिमीहरुले मानवअधिकारको राग अलाप्नुभन्दा पहिले नै नेपालमा मानवअधिकारको बहालीको क्रम सुरु भएको थियो’ भनेर भन्न सकिन्छ । संयुक्त राष्ट्रसंघको मावअधिकार उच्चायोगको भित्तामा पहिलो मानवअधिकारबादी शाषकका रुपमा चन्द्रशमसेरको फोटो झुण्डयाउनुपर्छ भनेर हामीले किन लविङ नगर्ने ? किन चन्द्रशमसेरका अवगुणहरुको मात्र बढाई चढाई प्रचार गर्ने ? नेपालकै शीर माथि उठाउने उनको योगदानको विश्वव्यापी चर्चा किन नगर्ने ? आउनुस् इतिहासलाइ यस कोणबाट पनि हेरौं ।
निश्चय नै राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको हत्या गरेका थिए । शासन सत्ता भनेको जोसँग शक्ति र सामथ्र्य हुन्छ, उसैले हत्याउने हो । २०६३ सालसम्म आइपुग्दा राजा ज्ञानेन्द्र कमजोर भएकाले जनताले शासन हत्याए । तर त्यो बेला महेन्द्र बलिया थिए, महत्वाकाँक्षी र केही भिजन भएका राजा थिए, उनी खोपीको देउता मात्र भएर बस्न रुचाएनन्, शक्रिय शासन गर्न थाले । निश्चय नै उनको पालामा मुलुकमा प्रजातन्त्र थिएन, दलमाथि प्रतिबन्ध थियो । तर विकास निर्माणका क्षेत्रमा उनको पालामा केही उल्लेखनीय कामहरु पक्कै भएका थिए, जसलाई आजको पुस्ताले उच्च मूल्यांकन गर्नैपर्छ ।
ती दिनहरुमा ‘जन गण मन अधिनायक जय हे भारत भाग्य विधाता’ भनेर स्कुलमा पढाइन्थ्यो, राजाले महेन्द्र माला तयार गराई नेपाली पाठयक्रम पढाउने व्यवस्था मिलाए । राजा महेन्द्रले मुलुकी ऐन २०२० लागू गरी बालबिवाह, वहुविवाह र अनमेल बिवाहको अन्त्य गराएका थिए । अन्तर्जातीय विवाह र विधवा विवाहलाई मान्यता दिएका थिए । उनकै पालामा बनेको पुर्व पश्चिम राजमार्ग विकासका अन्य ढोकाहरु खोलेको थियो । मधेशमा भारतीय मुद्राको चलनचल्ती भइरहेको बेला नेपाल राष्ट्र बैंक खडा गरेर नेपालभरी नेपाली मुद्रा कायम गराइएको थियो । उनकै पालामा राष्ट्रिय योजना आयोग बनेको थियो । उनकै पालामा साहित्य र संंगीतको गहन विकास भएको थियो । प्रज्ञा प्रतिष्ठानको स्थापनादेखि कला साहित्य र संगीतको जागरण सुरु भएको थियो ।
पृथ्वीनारायण शाह, जंगबहादुर, चन्द्रशमसेर र राजा महेन्द्र पनि हाम्रो इतिहासका गहना हुन् । यी गहनामा खिया लागेको भए बरु सफा गरौं, यी गहनामा धुलो जमेको भए टक्टक्याऔं, तर यी गहनाहरुलाई चम्काउँदै हामीले आफ्नो इतिहासलाई चम्काउने पहल गरौं । जेजस्ता भए पनि यी हाम्रा पूर्खा हुन्, यिनको योगदानको कदर गरौं । आउनुस् इतिहासलाई नयाँ ढंगले पुनव्र्याख्या गरौं । नेपाललाई बलियो बनाउने हिसाबले इतिहासका देशभक्त पात्रहरुप्रति गौरव गर्न नयाँ पुस्तालाई सिकाउँ ।
-सरल पत्रिका