लगातार एकपछि अर्को चलचित्रमा व्यस्त हुन पाउँदा कुन कलाकार खुसी हुन्नन् र ? किनकी यसलाई चलचित्र क्षेत्रमा सफलता हासिल गरेको मानिन्छ । हुन पनि हो, एक कलाकार जब एकपछि अर्को गर्दै चलचित्रको काममा व्यस्त हुन थाल्छ त्यसलाई सफलता मान्नु गलत होइन तर एउटा कलाकार लगातार व्यस्त हुँदा चाहिँ निर्मातालाई तनाब हुने गर्छ । चलचित्रको प्रचार प्रसारमा प्रयाप्त समय छुट्याउन नसक्नु र लगातार हलमा एउटै कलाकारको चलचित्र प्रदर्शन हुँदा निर्माताको टाउको मात्र दुख्दैन भोक निन्द्रा सबै हराउँछ । किनकी एउटा कलाकारमाथी निर्माताले ठूलै आश गरेर लाखौदेखी करोडसम्म लगानी गरेको हुन्छ । त्यही कलाकारले चलचित्रको प्रचार प्रसारमा प्रयाप्त समय नदिँदा र सोही कलाकारको चलचित्र महिना दिन नवित्दै एकपछि अर्को हलमा लाग्दा निर्माताहरुलाई ज्वरो आउनु स्वभाविकै हो ।
अहिले नायक दयाहाङ राईलाई लिएर चलचित्र निर्माण गर्ने निर्माताहरुको हालत पनि यो भन्दा कम छैन । किनकी महिना दिन नवित्दै दयाहाङ राईका चलचित्रहरु अहिले हलमा प्रदर्शन भइरहेका हुन्छन् । यस बर्ष मात्र दयाहाङ राईले अभिनय गरेका ‘हाऊ फन्नी’, ‘झुम्की’, ‘वीर विक्रम’ र हाल चलचित्र ‘पुरानो डुङ्गा’ प्रदर्शनरत छ । यि मध्ये ‘पुरानो डुङ्गा’, ‘वीर विक्रम’ र ‘हाऊ फन्नी’ ले सुखद नै व्यापार गरे तर लगातार उनी अभिनित चलचित्रहरु प्रदर्शनमा आइदिँदा अहिले निर्माताहरुको भने होसहवास उडेको छ ।
चलचित्र ‘पुरानो डुङ्गा’ प्रदर्शनमा आएको २ हप्ता वित्दै गर्दा फेरी दयाहाङको अर्को नयाँ चलचित्र ‘सेतो सूर्य’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । ‘पुरानो डुङ्गा’ मा दयाहाङको कमजोर भुमिकाबाट निराश दर्शकहरुलाई ‘सेतो सूर्य’ ले हलसम्म तान्न सक्ला वा नसक्ला त्यो भने शुक्रबारबाट नै थाहा हुनेछ तर लगातार एकै महिनामा दुईटा सम्म चलचित्र प्रदर्शनमा आइदिँदा निर्मातालाई मात्र होइन अहिले दयाहाङ स्वयंलाई पनि आफ्नो क्रेज जगाउन हम्मेहम्मे परिरहेको देख्न सकिन्छ ।एउटा चलचित्रमा आफ्नो कमजोर भुमिका भएपछि दर्शकहरु भड्किनु स्वभाविक हो तर अहिले के होड चलेको छ भने कि अनमोल केसी लिँदा चलचित्र चल्छ कि दयाहाङ लिए । तर, विस्तारै दयाहाङको व्यस्तता र एकपछि अर्को गर्दै आफु अभिनित चलचित्र महिना नवित्दै प्रदर्शन हुन थालेपछि दर्शकहरुमा अहिले दयाहाङको क्रेज खासै गतिलो छैन । यही शुक्रबार प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सेतो सूर्य’ बाहेक यो बर्ष दयाहाङ अभिनित चलचित्र ‘लाल्टिन’, ‘लुट २’ र नयाँ बर्षमा ‘घामपानी’ प्रदर्शनमा आउँदैछन् । यो हेर्दा यस बर्ष मात्र दयाहाङका आधा दर्जन चलचित्र प्रदर्शन हुनेछन् । यसले के दर्शकमा दयाहाङको क्रेज पहिला झै कायम रहला ? अब यसको उत्तर भने दयाहाङ स्वयंले नै विस्तारै पाउँदै गएका छन् ।
यस बर्ष दयाहाङ अभिनित चलचित्र ‘लुट २’ दर्शकहरुका लागि भने निकै प्रतिक्षित बनिरहेको छ । तर, दयाहाङले सम्बन्धलाई प्रगाढ राख्नका लागि जसरी एकै निर्माता, निर्देशकहरुसँग काम गरिरहेका छन् त्यसले न उनलाई राम्रो गर्छ न निर्माताहरुलाई नै । त्यसैले त अहिले दयाहाङमाथी लगानी गर्नु अवसर भन्दा पनि निर्माताहरुका लागि चुनौती बन्दै गएको देख्न सकिन्छ । अब यसलाई जोगाउन दयाहाङ भन्दा बाहेक अरु कसले नै पो सक्छ होला र !
-मनिष अन्जान