हाल ‘निर्भय’ को छायाँकनका लागि चितवनमा रहेका नायक निखिल उप्रेती अर्को नयाँ चलचित्र ‘राधे’ मा फाइनल भएका छन् । निखिलसँगै चलचित्रका लागि अशिष्मा नकर्मी र नायिका प्रियंका कार्की पनि फाइनल भएको चलचित्रका निर्माता सुशिल पोख्रेलले जानकारी दिए । भदौबाट छायाँकन हुने बताइएको यो चलचत्रमा निखिलले प्रियंका र अशिष्मासँग एकसाथ रोमान्स गर्नेछन् । प्रेम र एक्शनमा आधारित हुने यो चलचित्रमा निखिलले पहिलो पटक प्रियंका कार्कीसँग स्क्रिन सेयर गर्दैछन् । ५ बर्षपछि नेपाली चलचित्रक्षेत्रमा ‘भैरव’ लिएर भित्रिएका निखिलले अनु शाह, नीशा अधिकारी, मलिना जोशी, वेनिशा हमाल, नीता ढुंगाना, अशिष्मा नकर्मीसँग काम गरिसकेका छन् । जगदिश्वर थापाको लेखन र निर्देशन रहेको चलचित्र ‘राधे’ का लागि योसँगै सबै कलाकारहरु फाइनल भएको निर्माता पोख्रेलले बताए । उनका अनुसार निखिलले चलचित्र ‘निर्भय’ को छायाँकन सकाएपछि ‘राधे’ मा व्यस्त हुनेछन् ।