आफ्नो ब्यानर अर्थात रेखा फिल्मसबाट निर्माण भएका अधिकांश चलचित्रहरुमा त नायिका रेखा थापा सधै हिट भईन । उनका चलचित्र हेर्न हलहरुमा दर्शकहरुको राम्रै बाढी लाग्यो र रेखाले मनग्य पैसा पनि बटुल्न सफल भईन । तर, आफ्नै ब्यानरबाट बनेका चलचित्रमा मात्र । हुनत, एकसमय रेखाले दर्जनौं बाहिरी ब्यानरमा निर्माण भएका नेपाली चलचित्रमा काम गरिसकेकी छिन् र सफलता पनि राम्रै चुम्न सफल भईन ।
निर्माता छविराज ओझासँग १० बर्षे बैबाहिक सम्बन्धमा रहँदा रेखा अभिनेत्रीबाट निर्मात्री बनेकी हुन । जब रेखाले छविराजसँग बैबाहिक सम्बन्ध टुंगाइन त्यसपछि भने उनले रेखा फिल्मसबाट लगातार बर्षमा एउटा चलचित्र निर्माण गर्दै गइन् । छविराज ओझाको साथले गर्दा नै रेखा थापा लगातार हिट भइरहिन् भन्ने जसरी जनमानसमा छाप परेको थियो त्यसलाई रेखाले नराम्रैसँग तोडिन । छविराज ओझासँग बैबाहिक सम्बन्ध टुंगाएपछि पनि उनले चलचित्र निर्माण गर्न छोडिनन् र उनका चलचित्रले सफलता हासिल गर्न पनि छोडेनन् ।
रेखाले जबदेखी आफ्नो ब्यानर रेखा फिल्मसबाट चलचित्र निर्माण गर्न थालिन् त्यसपछि भने उनले बाहिरी ब्यानरका चलचित्रमा हात हालिनन् । तर, केही बर्ष अगाडी रेखाले बाहिरी ब्यानरका दुई चलचित्रमा काम गरिन् ‘तथास्तु’ र ‘जाउँ हिँड पोखरा’ । रेखाले चलचित्र ‘तथास्तु’ निर्देशक सविर श्रेष्ठ र ‘जाउँ हिँड पोखरा’ निर्देशक शोभित बस्नेतसँगको सुमधुर मित्रतालाई कायम राख्नका लागि काम गरेको बताइन्छ । रेखाले यि दुई चलचित्रमा जसरी सम्बन्धलाई प्रगाढ बनाउनका लागि काम गरिन् त्यसले बक्सअफिसमा तहल्का पिट्न सकेनन् । अर्थात यो भनौं, रेखा बाहिरी ब्यानरका चलचित्रमा असफल देखिइन । त्यसपछि बजारमा हल्ला पनि चल्यो रेखा कि आफ्नै ब्यानरका चलचित्रमा मात्रै हिट हुन्छिन् । ति कुराहरु सत्य सावित पनि बन्यो जब उनले ‘हिम्मतवाली’ र ‘रामप्यारी’ चलचित्रमा लगानी र अभिनय गरिन् । दुई बाहिरी ब्यानरबाट बनेका चलचित्रमा असफल देखिएकी रेखाले आफ्नै ब्यानरका दुई चलचित्र ‘हिम्मतवाली’ र ‘रामप्यारी’ मा भने मज्जाकै सफलता चुमिन । गएको बर्ष प्रदर्शनमा आएको ‘रामप्यारी’ चलचित्रपछि रेखा अहिले आफ्नो ब्यानरमा निर्माण भएको कुनै पनि चलचित्रको काममा व्यस्त छैनन । खबरका अनुसार, उनी यही बर्ष आफ्नो ब्यानरबाट निर्माण हुने चलचित्र ‘कसले चोर्यो मेरो मन फेरी’ निर्माण गर्दैछिन्, जुन चलचित्रलाई निर्देशक सविर श्रेष्ठले निर्देशन गर्ने पक्का भइसकेको छ ।
उनले यस बर्ष आफ्ना ब्यानरमा निर्माण हुने कुनै पनि चलचित्रमा काम नगरेपनि तीन बाहिरी ब्यानरमा निर्माण भएको चलचित्रमा भने मुख्य भुमिका निर्वाहा गरेकी छिन् । उनले यस पटक पनि सम्बन्धलाई प्रगाढ राख्नका लागि नै तीन चलचित्रमा काम गरेको खबर छ । उनले केही महिना अगाडी मात्र चलचित्र ‘पलाँस’, ‘हिरो रिटन्र्स’ र ‘डायरी’ को छायाँकन सकाइसकेकी छिन् । अहिलेसम्म यि तीन चलचित्रले आफ्नो प्रदर्शन मिति फाइनल नगरेपनि ‘पलाँस’ र ‘डायरी’ भने यसै बर्ष आउने तयारीमा छन् तर ‘हिरो रिटन्र्स’ भने यस बर्ष प्रदर्शनमा आउने सम्भावना निकै न्यून छ । किनकी ‘पलाँस’ र ‘डायरी’ को टीजर सार्वजनिक भइसकेको छ भने ‘हिरो रिटन्र्स’ को केही हप्ता अगाडी मात्र छायाँकन सकिएको हो ।
चलचित्र ‘पलाँस’ रेखाले निर्मात्री कृषा चौलागाईसँगको सम्बन्धलाई कायम राख्नका लागि गरेको बुझिन्छ । रेखाले यसअघि कृषा चौलागाईले निर्माण गरेको चलचित्र ‘कसम हजुरको’ मा काम गरेकी थिइन, जुन नेपाली बक्सअफिसमा असफल रहेको थियो । त्यस्तै रेखाले नायिका छुल्ठिम गुरुङको निर्माण र अभिनय रहेको चलचित्र ‘डायरी’ मा काम गरिन् । यो चलचित्र पनि रेखाले छुल्ठिम गुरुङसँगको सम्बन्धलाई प्रगाढ बनाउनका लागि गरेकी हुन । रेखाले यो चलचित्रमा पहिलो पटक भिलेनको भुमिका निर्वाहा गरेकी छिन् । त्यस्तै नायक सविन श्रेष्ठको निर्माण र अभिनयमा तयार भएको चलचित्र ‘हिरो रिटन्र्स’ पनि रेखाले सविनसँगको सम्बन्धलाई सुमधुर बनाउनका लागि नै गरेकी हुन् । आफ्ना धेरै जसो चलचित्रमा काम गरिसकेका कारण रेखाले सविनको प्रस्ताव अस्वीकार गर्न नसकेकी हुन् । यो कुरा रेखा स्वयं बताउँछिन् ।
यस बर्ष मात्र सम्बन्धलाई सुमधुर बनाउनका लागि तीन चलचित्रमा काम गरेकी रेखालाई यि चलचित्रले कतिको सफलता दिलाउने हुन त्यो भने समयले बताउनेछ । तर, यसअघि बाहिरी ब्यानरमा निर्माण भएको चलचित्र ‘तथास्तु’ र ‘जाउँ हिँड पोखरा’ जसरी असफल भए त्यसले गर्दा चाहिँ रेखाका लागी ‘पलाँस’, ‘हिरो रिटन्र्स’ र ‘डायरी’ अहिले अग्नी परिक्षा बनेका छन् ।
अब हेर्न त यो बाँकी छ कि रेखालाई आफ्नो ब्यानरभन्दा बाहिरका यि तीन चलचित्रले कतिको सफलताको स्वाद चखाउने हुन ।
-मनिष अन्जान