यो बर्ष नेपाली चलचित्र क्षेत्रका लागि सबैभन्दा खुसीको बर्ष सावित भएको छ किनकी बर्षौपछि एक नेपाली चलचित्रले आज प्रदर्शनको सय दिन मनाउँदैछ । त्यो चलचित्र हो ‘छक्का पन्जा’ । आज चलचित्र ‘छक्का पन्जा’ ले प्रदर्शनको सय दिन मनाउन लागेको हो । भदौं २४ गते प्रदर्शनमा आएको ‘छक्का पन्जा’ हेर्न हलमा दर्शकहरुको मात्र भिड लागेन देशका राजनीतिक दलका नेतादेखी बलीउड अभिनेता अमिताभ बच्चन अभिनित चलचित्र ‘भुतनाथ’ निर्देशन गरेका विवेक शर्माले समेत हेरे । चलचित्र ‘छक्का पन्जा’ ले सय दिन मनाउँदासम्म १५ करोडमाथीको ग्रस कलेक्शन गरेको चलचित्र वितरक बताउँछन् । दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा’ मा दीपकराज गिरी, बर्षा राउत, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्र काठमाडौंका केही सिंगल हलका साथै पहिलो पटक मल्टिप्लेक्समा पनि नेपाली चलचित्रले सय दिन मनाएको छ । यो चलचित्र अहिले काठमाडौंको बिग मुभिजमा प्रदर्शन भइरहेको छ । सय दिन मनाएको उपलक्ष्यमा आज शुक्रबार प्राय सिनेमा हलहरुले चलचित्र ‘छक्का पन्जा’ प्रदर्शन गरेका छन् । योसँगै आज शुक्रबारबाट चलचित्र ‘जात्रा’ ले पनि छैटौं हप्तामा आफ्नो प्रदर्शन आरम्भ गरेको छ । यस बर्ष चलचित्र ‘छक्का पन्जा’ पछि चलचित्र ‘जात्रा’ ले पनि गज्जबले हल कब्जा गरेर बसेको छ । छैटौं हप्तामा आफ्नो प्रदर्शन आरम्भ गर्दा ‘जात्रा’ ले पनि ३ करोड ग्रस कलेक्शन गरिसकेको बताइएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रा’ मा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकार छन् । यो चलचित्र हेर्न अहिले पनि सिनेमा हलहरुमा दर्शकहरुको भिड राम्रै छ भने डा.बाबुराम भट्टराईदेखी राजेश हमालसम्मले जात्राको खुलेरै प्रशंसा गरेका थिए । आज छैटौं हप्तामा प्रवेश गरेको ‘जात्रा’ र सय दिन मनाएको ‘छक्का पन्जा’ सँग हलमा दुई नेपाली चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । चलचित्र ‘तिमी बिना मलाई जिउँनु छैन’ र ‘प्रेमी’ आजबाट देशव्यापी प्रदर्शनमा आएका छन् । यि दुई चलचित्रले नेपाली बक्सअफिसमा कमाल नगर्ने पक्का छ त्यसैले पनि यो हप्ता ‘जात्रा’ र ‘छक्का पन्जा’ कै राज हुनेछ नेपाली हलहरुमा ।
छैटौं हप्तामा प्रदर्शन आरम्भ गरेको चलचित्र ‘जात्रा’ र सय दिन मनाउन सफल चलचित्र ‘छक्का पन्जा’ लाई ‘सिनेखबर डटकम’ परिवारको तर्फबाट पनि हार्दिक शुभकामना ।