पहिलो चलचित्र ‘पिँजडा’ का लागि नौं तलाबाट हाम फालेर एक्शन नायकको रुपमा आफ्नो छबि बनाएका निखिल उप्रेती चाँडै चलचित्र ‘पिँजडा’ को दोस्रो भागमा देखिँदैछन् । द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गर्न लागेको चलचित्र ‘पिँजडा ब्याक एगेन’ को छायाँकन माघ १५ पछि सुरु हुनेछ । यो चलचित्रमा नायक उप्रेती नै मुख्य भूमिकामा हुनेछन् भने उनको अपोजिटमा नायिका सारा शिर्पाली रहने पक्का भएको छ । चलचित्रका निर्देशक हिमाल केसीले दिएको जानकारी अनुसार, निखिल उप्रेतीको होम प्रोडक्शनबाट निर्माण भइरहेको चलचित्र ‘रुद्र’ मा मुख्य भूमिका निर्वाहा गरिरहेकी सारालाई नै ‘पिँजडा ब्याक एगेन’ का लागि मुख्य भूमिकामा छनौट गरिएको हो । ‘रुद्र’ मा नायक निखिल उप्रेती भिलेन बनेका छन् भने सारा नायक विश्व शर्माको जोडी बनेर काम गरेकी छिन । चलचित्र ‘पिँजडा ब्याक एगेन’ मा निखिल र साराका अलवा अशिष्मा नकर्मी, पुकार भट्टराई पनि फाइनल भइसकेका छन । नायिका अशिष्मा नायक निखिल उप्रेतीसँग तेश्रो पटक स्क्रिन सेयर गर्दैछिन् । अशिष्माले निखिलसँग चलचित्रहरु ‘संरक्षण’ र ‘राधे’ पछि ‘पिँजडा ब्याक एगेन’ मा सँगै काम गर्न लागेकी हुन् । चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ । राजनराज सिवाकोटी, अर्जुन पोखरेल, बसन्त सापकोटा र महेश खड्का चलचित्रका संगीतकार हुन् ।