चकलेटी नायक आर्यन सिग्देल रियल लाइफमै बेहुला बनेको पनि २ बर्ष बढी भइसकेको छ । केही बर्षसम्म रिलेशनसिपमा रहेपछि आर्यनले काठमाडौं जोरपाटीकी सपना भण्डारीसँग विवाह गरेका थिए । आर्यन र सपनाले विवाह गर्नुभन्दा केही महिना अगाडी नै सुटुक्क ‘कोर्ट म्यारिज’गरेका थिए । स्वभाविकै हो, विवाह भएको एकबर्ष वितेपछि पारिवारिक सदस्यले होस् वा अन्य व्यक्तिहरुले एउटै प्रश्न गर्ने गर्छन अब कहिले आमाबुबा बन्ने । अहिले आर्यनलाई पनि यस्ता प्रश्नहरुले खुबै सताउन थालेको छ । आर्यन आफू पिता नबने पनि उनी दुई भान्जाभान्जीका मामा भने बनिसकेका छन् । उनकी बहिनीका एक छोरी र एक छोरा छन् । तर, आर्यन भने पिता बन्ने सुरसारमा देखिएका छैनन् ।
यस विषयमा आर्यनले अहिलेसम्म मुख नखोलेपनि श्रीमती सपना भण्डारीले भने अहिले सन्तानको विषयमा सोचिरहेको बताएकी छिन् । एक अनलाइन अन्तर्वार्ताको क्रममा उनले भनिन्, ‘यहि समयमा सन्तान जन्माउँछौँ भन्ने त छैन तर अब भने हामीले विचार गरेका छौँ ।’
तत्काल सन्तान नजन्माउनुको कारण चाहिँ विवाहपछि सपनाको अध्ययनमा बाधा नहोस् भन्ने हेतुले थियो । तर, अब भने सपनाले अध्ययन पनि सकाएकी छन् । उनले स्तानातकोत्तर पूरा गरिसकेकी छन् ।
आर्यन र सपनाको भेट फेसबुकले गराएको थियो । उनीहरुले फेसबुकबाटै एकअर्कालाई मन पराएर विवाह गरेका हुन् । सपनाको कुरा गर्ने शैली मनपराएका आर्यनले उनलाई फेसबुकबाटै प्रपोज गरेका थिए ।