भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पन्जा’ को मोफसल प्रचार सुरु गरिएको छ । चलचित्रका नायक तथा निर्माता दीपकराज गिरी र चलचित्रकी निर्मात्री एवं निर्देशक दीपाश्री निरौलाले पूर्वबाट चलचित्रको प्रचार आरम्भ गरेका छन् । उनीहरुले आइतबार पूर्वको विर्तामोड र दमकका पत्रकारहरुसँग चलचित्रको विषयमा अन्तक्रिया गरेका थिए । चलचित्रमा समाबेश ‘पूर्व पश्चिम रेल’ बोलको गीतले चर्चा पाइरहेको अबस्थामा दीपक र दीपाले पूर्वबाट चलचित्रको प्रचार सुरु गरेका हुन् ।
पत्रकार सम्मेलनपछि ‘सिनेखबर डटकम’ सँग कुराकानी गर्दै निर्देशक दीपाश्री निरौलले भनिन्, ‘हामी निकै उत्साहित भएका छौ । पूर्वमा दर्शकहरुले चलचित्र छक्का पन्जाको प्रतिक्षा गरिरहेको पाएका छौ । अहिले ‘पूर्व पश्चिम रेल’ बोलको गीतले पनि पूर्वमा राम्रै चर्चा पाइरहेको छ ।’ पूर्वकी चेलीले चलचित्र निर्देशन गरेका कारण पनि चलचित्र छक्का पन्जा हेर्न दर्शकहरु आतुर भएको दमकबाट दीपाश्रीले जानकारी दिइन । त्यस्तै निर्माणपक्षले आइतबार ‘फ्रेन्डसिप डे’ को अवसर पारेर नयाँ पोष्टर पनि सार्वजनिक गरेको छ । पोष्टरमा चलचित्रका सबै कलाकारहरुलाई कमेडी शैलीमा देखाइएको छ । यो चलचित्रमा दीपकराज, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।