एक समय एकदिन पनि फुर्सद नहुने नेपाली कलाकारहरु अहिले प्राय जसो विदेश पलायन भइसकेका छन् । जति बेला देखी बजारमा उनीहरुको माग घट्दै गयो तब उनीहरु पनि आफ्नो बाटो सोज्याउन लागे । चलचित्रमा नयाँ अनुहार भित्रिदै गएपछि निर्माताहरु पुराना कलाकारहरुलाई हेर्न छोडेसँगै पछिल्लो समय धेरै नेपाली कलाकारहरु विदेश पलायन हुन बाध्य भइरहेका छन् ।
यस्तै एक समय विकाऊ अभिनेताको रुपमा आफ्नो छवी बनाएका नायक सुमन सिंह पनि अहिले नेपाली चलचित्रबाट टाढा देखिएका छन् । २०७१ सालमा प्रदर्शनमा आएको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ मा काम गरेपछि सुमनका अन्य चलचित्र हलमा लागेका छैनन् न दर्शकहरु नै उनको चलचित्रको प्रतिक्षा गरिरहेका छन् । करियरको सुरुवातमा संख्या बढाउनका लागि २ घण्टा मात्र सुतेर पनि एक समयमा नेपाली चलचित्रमा काम गरेका सुमनलाई त्यही व्यस्तता अहिले धातक बनेको छ । गुणस्तर भन्दा पनि संख्या बढायो भने सुपरस्टार भइन्छ भन्ने सोच अहिले आएर सुमनलाई धातक सावित हुँदैछ । जति बेला उनलाई अब संख्यात्मक रुपमा चलचित्र खेल्ने भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने सोच पलायो त्यस बेला देखी उनलाई निर्माताहरुले फर्किएर हेरेनन् । झण्डै १ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण भएको चलचित्र ‘व्याच नं. १६’ मा समेत काम गरेका सुमनको हातमा अहिले एउटा पनि नेपाली चलचित्र छैन र उनी यही मौकामा देश विदेशको भ्रमणमा नै मस्त छन् । एकसमय उनले अभिनय गरेका चलचित्रहरुले नेपाली बक्स अफिसमा राम्रै तहल्का मच्चाउने गर्थ्यो । बरिष्ठ निर्देशक तुलसी घिमिरेको टेलिचलचित्र मुक्तिबाट आम दर्शकमाझ आएका सुमनलाई व्याच नं.१६, रणसंग्राम, खुशी, तोड, सौभाग्य, विराशत, उनको सम्झनामा, राज्य लगायत दर्जनौ बढी चलचित्रले नायकको रुपमा स्थापित गराएको थियो । तर, उनले आफ्नो उपलब्धिलाई जोगाएर राख्न नसक्दा अहिले दर्शकहरु यो सोचिरहेका छन् कि कतै सुमन सिंह पनि पलायन त भएनन् ?