बलिउडका ‘बिग बि’ अमिताभ बच्चनले आफु टाट पल्टेको बेलाको बारेमा कस्तो महसुस हुन्थ्यो भन्ने बारेमा मुख खोलेका छन् । ७० वर्षिय अभिनेताले हालसालै दिएको एक अन्तवार्तामा आफु टाट पल्टेको बेलामा ऋण लिएका धेरै मानिसहरु पैसा माग्न आँउथे, धेरैले नराम्रो ब्यवहार गर्ने कत्तिपयले त उनलाई धम्की दिएको पनि बताएका छन् ।
‘कौन बनेगा करोडपति’ को नयाँ सिजनको तयारीमा ब्यस्त बच्चनले केही समयको विश्रापछि फिल्महरुमा पनि देखा पर्दैछन् । स्वास्थको समस्याले केही समय क्यामेराबाट टाढा बसेका उनी फेरी दर्शकसामु आउन लागेका हुन् ।
उनी यो उमेरमा पनि यति फुर्तिला छन् कि लाग्छ उनलाई बुढ्यौलीले कत्ति पनि छोएको छैन । प्रतिभावान् युवा निर्देशकहरुसँग फिल्ममा काम गर्न लागेका बच्चनले फिल्महरु साइन गरिसकेका छन् र फ्रेबुअरी देखी पर्दामा देखा पर्दैछन् । अन्तवार्तामा उनले भनेका छन्,‘म एकदमै उत्साहित छु किनभने आजकालका फिल्महरु दिनप्रतिदिन झनै चुनौतिपूर्ण छन् ।’
उनका अनुसार दर्शकहरुलाई सधैं नयाँ टेस्ट मनपर्छ र उनीहरुको टेस्ट चेन्ज भइरहन्छ । समयअनुसार परिवर्तन हुन सकिएन र दर्शकलाई नयाँ स्वाद दिन सकिएन भने आफै पाखा लाग्ने उनले बताएका छन् ।उनले एक कलाकारको करिअर कहिल्यै नसकिने बताँउदै अझै धेरै काम बाँकि भएको पनि बताएका छन् । यी लोकप्रिय कलाकार आफु टाट पल्टिएको अवस्थालाई कहिल्यै भुल्न सक्दैनन् । उनी भन्छन् ‘जिन्दगीमा कहिले सफलताको शिखरमा पुगिन्छ र कहिले तल पुगिन्छ यो सबैले स्विकार गर्नुपर्छ । अमिताभ बच्चन कर्पोरेशन टाट पल्टिएको अवस्थामा पनि मैले धेरै जनाको ऋण तिरेको छु ।’
अमिताभ बच्चन ति अध्यारा दिनहरुबाट फेरी उज्यालो तिर फर्केका छन् । उनले ९० करोड भन्दा बढि ऋण लिएका थिए र तिरिसकेका पनि छन् । उनकाअनुसार उनको बङ्गलाको ढोकामा ऋण लिएका धेरै मानिसहरु पैसा माग्न आँउथे, धेरैले नराम्रो व्यवहार गर्थे कत्तिले त धम्क्याउथे । उनी भन्छन्,‘फिल्ममा काम गरेर ठुलै इज्जत बनाएको थिए । तर, म कंगाल भइसकेको थिए । मसँग एउटा पनि गाडी थिएन । छिमेकीहरुलाई आफ्नो बंगलामा कारहरु पार्क गर्न भनिरहन्थे । अरुलाई देखाउन पनि मैले यस्तो आइडिया लगाएको थिए ।’ उनले त्यस घटनालाई आफ्नो ४४ वर्षे फिल्मी करिअरकै कालो घटनाको रुपमा लिएका छन् । उनकाअनुसार त्यसबेलामा उनलाई यस चोपडाले मोहब्बते फिल्म दिएर ठूलो गुन लगाएका छन् । उनी त्यति बेला आर्थिक र भावनात्मक दुवै रुपमा कमजोर भएका थिए ।
उनकाअनुसार सन् २००० मा स्टारप्लसले कौन बनेगा करोडपति सुरु गरेपछि भने उनको स्थिती बदलियो । यो रातारात लोकप्रिय भयो र उनले फेरी आफ्नो एउटा नयाँ ब्रान्ड स्थापित गरे जुन पहिलेको भन्दा फरक थियो । ‘कौन बनेगा करोडपति’ ले उनको जिवनमा टर्निङ प्वाइन्ट बन्यो जसले उनको ऋण तिर्न समेत सहयोग गर्यो । कौन बनेगा करोडपतिमा उनी यती उत्साहका साथ प्रस्तुत हुन्छन कि उनी हरेक पलमा मुस्कुराइ रहेका देखिन्छन् ।उनले पछिल्लो समय काम गरेका फरक धारका मानिने ब्ल्याक, पा, सरकार, भुतनाथ, चिनिकम लगाएतका फिल्म पनि धेरै मनपराइएका छन् ।