सुन्दर र भलाद्मी नायिकाको रुपमा आफ्नो छवी बनाएकी नायिका गरिमा पन्त अहिले नेपालमा छैनन् । यस बर्ष बेल्जियमका धनाढ्य नेपाली एनआरएन ब्यवसायी हरि शर्मासँग सुटुक्क विवाह गरेपछि उनी नेपाली चलचित्र क्षेत्रबाट लगभग गुमनाम बनेकी छिन् । विवाह गरेको केही हप्तामा नै उनले आफू पढेको विद्यालयको सहयोगका लागि अक्षयकोषको समेत घोषणा गरेकी थिइन । त्यसयता उनी नेपाली चलचित्र फर्किने भन्दा पनि वैवाहिक लाइफमा बेल्जियमै रमाइरहेकी छिन् । उनले पतिदेवसँग मिलेर बेल्जियममै ‘गरी सुसी’ नामको एउटा रेष्टुराँ समेत खोलेकी छिन् ।
लामो समयदेखि नेपाली फिल्ममा सक्रिय नायिका पन्तले केही वर्ष अगाडी ‘झोला’ बाट सार्क फिल्म फेस्टिबलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेपछि निकै चर्चामा आएकी थिइन । त्यसअघि कुनै अवार्ड नपाएकी गरिमालाई धेरैले राम्रो अभिनय गर्ने नायिकाका रूपमा भने लिने गरेका थिए । सोझी एवं सरल अभिनेतृका रूपमा सुपरिचित गरिमा छोटा कपडा तथा बोल्ड भूमिकामा देखा परेकी छैनन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘तीन घुम्ती’ पनि यस बर्ष प्रदर्शनमा आएको थियो तर उक्त चलचित्र नेपाली बक्सअफिसमा कमाल देखाउन सकेन् । सशक्त अभिनय गर्ने नायिकाको रुपमा आफुलाई स्थापित गराएपनि चलचित्र झोला बाहेकका चलचित्रले उनको गरिमा बढाउने काम गरेनन् । लामो समयपछि उनले चलचित्र झोलाबाट गज्जबकै सफलता हात पारेकी थिइन तर त्यस लगत्तै बैबाहिक सम्बन्धमा बाँधिएपछि अब पुन उनी नेपाली चलचित्रमा फर्किने सम्भावना निकै न्यून देखिएको छ ।
आहा चाउचाउको विज्ञापनबाट अभिनय यात्रा थालेकी नायिका पन्तलाई दर्शकहरु पुन नेपाली चलचित्रमा काम गरेको हेर्न चाहन्छन् तर अहिलेको अबस्था हेर्ने हो भने उनी लगभग नेपाली चलचित्रक्षेत्रबाट पलायन भइसकेकी छिन् । नेपाली चलचित्र ‘निखिल दाइ’, ‘प्रितीको फूल’, ‘सुन्दर मेरो नाम’, ‘किन लाग्छ माया’ इत्यादि गरी हालसम्म दुई दर्जन नेपाली तथा पाँचवटा भोजपुरी चलचित्रमा काम गरेकी गरिमालाई के अब फेरी पर्दामा दर्शकहरुले हेर्न पाउँछन् वा पाउँदैनन् ? यो त अब समयले नै बताउँला ।