सैन्य बलमा बीपी कोइराला सरकारलाई अपदस्थ गर्ने राजा महेन्द्रविरुद्ध पहिलो बन्दुक उठाउने सशस्त्र आन्दोलनकारी भूविक्रम नेम्वाङको ८० वर्षको उमेरमा आइतबार साझ निधन भएको छ ।
फोक्सो, मृर्गौला र मुटुका विरामी भूविक्रम झापाको धुलावारीस्थित घरमा बितेका हुन् । उनको सोमबार निन्दा नदीमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पाँचथरको पौवा-सारतापमा जन्मेका भूविक्रम सानैदेखि बागी थिए । उनी २०१२ सालमा इलाम आदर्श हाइस्कुल पढैगर्दा स्कुल व्यवस्थापनसँग विद्यार्थीले असन्तुष्टि राख्नेक्रममा अकस्मात् आन्दोलन उछालियो । नेता थिए भूविक्रम । गिरफ्तार उनी क्षेत्रीय प्रशासन कार्यालय धनकुटा चलान गरिए ।
उनीभन्दा १५ महिनापछि जन्मेका काइला भाइ साहित्यकार वैरागी काइलाले राजा महेन्द्रको प्रजातन्त्र मास्ने कदमविरुद्ध पहिलोपटक भूविक्रम र उनका साथीले बन्दुक उठाएको बताए । ‘बीपीको सरकारलाई कु गर्नेबित्तिकै महेन्द्रले प्रशासक उदीपसिंह थापाको नेतृत्वमा देशभरिको राजनीतिक स्थिति बुझ्न दौडाहा पठाएका थिए । थापा इलाम नाघेर पाँचथर पुग्नेबेला पौवाभन्ज्याङ सिलौटीमा साल्दाइ, भाइ कृष्णविक्रमलगायत साथीहरुले दौडाहामाथि हतियारले आक्रमण गरे, बन्दुक पनि खोसे,’ काइलाले सम्झिए, ‘०१८ सालमा सुवर्ण शमशेरले महेन्द्रविरुद्ध सशस्त्र क्रान्ति घोषणा गर्नुअघि नै त्यो घटना हुन गयो । पछि त दाजुहरु सुवर्णकै नेतृत्वमा सशस्त्र क्रान्तिमा लागे ।’
पाँचथर कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णविक्रम नेम्वाङले ०१७ सालको क्रान्तिमा भूविक्रमको नेतृत्वबारे संस्मरण पुस्तक नै लेखेका छन् । उमेरवयमा घर खासै नबसेका भूविक्रम आफैं स्वतन्त्र भएर छुट्टै हिड्ने स्वभावका थिए । दार्जिलिङमा इन्टरिमिडियट पढे । महेन्द्रको सरकारले सिकायत गरेपछि भारतीय सरकारले भूविक्रमलाई दार्जिलिङ पनि राम्ररी बस्न दिएन । नेपाल भारत सिमानादेखि ६० किमीसम्म मात्र भित्र जान दिइयो । त्यसपछि उनी साहित्यिक क्रियाकलापमा लागे ।
भूविक्रम र मदनकुमार श्रेष्ठ मिलेर ‘सौगात’ कथा संग्रहको दुई भोल्युम निकालेका थिए । पञ्चायत अझै झागिएपछि सुवर्णशमशेरसगै भूविक्रम पनि स्वनिर्वासनमा भारत घुमे । उनी सशस्त्र क्रान्ति गर्न नेपाल फर्की आउदा हाल सांसद रहेका ताप्लेजुङका सूर्यमान गुरुङ, इलामका केबी भट्टराई, झापाका सिके प्रसाई, पाँचथरका मच्छिन्द्र केरुङ, दिवान दोर्जे थिङ दार्जिलिङबाट सगै फर्के, २०२१ सालमा । त्यही बीचमा पाँचथर आङसराङको दोबाटेमा स्कुल खोले । सिलौटीमा गोठ गर्दै पात्लेमा पनि स्कुल चलाउदै त्यहीमार्फत् प्रजातान्त्रिक आन्दोलन पनि अघि बढाए ।
पाँचथरमै रहेका बेला पन्चायतविरुद्ध भूविक्रम, देवान दोर्जे आदि मिलेर स्थानीय प्रहरी चौकीहरुमा सशस्त्र आक्रमण गरे । भारत निर्वासित गएका बेला भारतवाट हतियार भित्र्याएर क्रान्ति सफल वनाउन योगदान गरेको नेपाली कांग्रेसका नेता याम भण्डारीले बताए । भण्डारीले भने,‘भुविक्रम दाइ बीपी कोइरालाले पत्याएका नेता थिए, उनी नेपाली कांग्रेसका उर्जा थिए ।’
भूविक्रम त्यस बेला भारत पश्चिम वंगालको वतासीमा वस्न थालेका थिए । विहारवाट हतियार ल्याएर नेपाल पठाउथे । मच्छिन्द्र केरुङ, दान खालिङहरुले उनलाई सघाएका थिए । गैरकम्युनिस्ट भूविक्रम कम्युनिस्टले नै विकास गरेको गुरिल्ला तालिम अपनाएका थिए । कार्यकर्तालाई माओत्से तुङको ‘रेड वुक’ वारे प्रशिक्षण दिएर हिड्थे’, नेम्वाङलाई नजिकवाट वुझेका पत्रकार चन्द्र भण्डारीले भने ।
पछिल्लो समय भने भूविक्रम मूलधारको राजनीतिसग उदासीन थिए । कांग्रेसले सबै क्षेत्र, समूदायसग समन्वय गर्ने, तिनलाई मूलधारमा अटाउने दृष्टिकोण बनाउनै नसकेकोमा उनको खेद थियो । ‘हामी वास्तविक प्रजातन्त्रको भोग सबै खाले जनताले गर्न पाउन् भनेर लडेका थियौं, तर कालान्तरमा हामीचाहि भर्याङमात्रै भयौं कि भन्ने सोचाई उहामा आएको थियो,’ वैरागी काइला भन्छन् ।
‘देशको स्थिति ठिक ढंगले गइराखेको छैन । म त बुढो भए, तिमी सबैलाई लिएर अघि बढ्नु भन्नुहुन्थ्यो,’ पूर्वसभामुख सुवास नेम्वाङ सम्झन्छन्, ‘कांग्रेस र अरु ठूला पार्टीप्रति साह्रै असन्तुष्टि जनाउनुभएको थियो ।’
भूक्रिम २०४६ को आन्दोलनपछि निरास वने । खासगरी गिरिजाप्रसाद कोइरालासंग उनको मतभेद रहेको जानकारहरु बताउँछन् । उनी सत्तामा कहिल्यै पुगेनन् । राजनीतिक मतभेदपछि आफैले मलजल गरी हुर्काएको पार्टी चटक्क छाडे । गाउँ फकिएर खेती किसानीमा रमाए । केही समय अघि सम्म उनी कृषि जीवनमै सक्रिय थिए । पत्रकारलाई हत्तपत्त अन्तरवार्ता दिन्नथे ।
रोगले थलिएपछि सुमेरु हस्पिटलमा १ महिना, नर्भिकमा १५ दिन राखेपछि काठमाडौंबाट झापा फर्कने बेला उनलाई एयरपोर्टसम्म छाड्न गए काइला । बुवा खड्गबहादुर नेम्वाङले २०१२ सालमा छापेको ‘किरात जागरण गीत’लाई २०३८ सालमा उनको देहान्तपछि भूविक्रम र काइला मिलेर छापे । ‘फेरि छापौं, म पैसा हाल्छु भन्नुभयो, त्यसपछि फेरि छापियो, झापा जाने बेला प्लेनमा पठाउन लगेको थिए,’ काइलाले भने, ‘बुवाले शिक्षा क्षेत्रमा त्यस बेला धेरै काम गरेको हुनाले बुवाको नाममा फाउन्डेसन बनाउ भन्दैहुनुहुन्थयो । त्यो पूरा हुनै नपाई बित्नुभयो ।’
बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंहजस्ता पहिलो पुस्ताका नेतासँग आखा जुधाएर कुरा गर्न सक्ने थोरैमध्ये एक थिए उनी । उनीसगै एउटा फरक मतको अवसान भएको छ । यो खबर कान्तिपुर दैनिकमा वसन्त बस्नेत र पर्वत पार्तेलले लेखेका छन् । -सरल पत्रिका