तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको ‘धुर्मुस-सुन्तली’ फाउण्डेशनलाई एक व्यक्तिबाटै ४० लाख रुपैँया सहयोग मिलेको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनले भने, ‘धुर्मुस सुन्तलीलाई यस अघि गरेको सहयोग खेर गएन त्यसैले तेश्रो बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ ।’ उनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए । आफुले सहयोग गर्न चाहेको व्यक्तिले राहात महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफुले सकेको सहयोग गरेको उनको भनाई छ ।
यस्तै, फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले विदेश पुग्दा पाएको सहयोगले आफुलाई निकै प्रफुल्लीत तुल्याएको बताएका छन् । देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफुहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ । मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।